• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी शुक्रवार सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८३/०८४ मा जिल्लामा सम्पादित स्वास्थ्य सम्बन्धी कार्यक्रमको समीक्षा गर्दै आगामी योजना तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो ।

वार्षिक समीक्षा गोष्ठीको समापनसत्रमा सरोकारवालाहरुले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुलाई आगामी दिनमा प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले स्वास्थ्य क्षेत्रबाट सञ्चालित कार्यक्रम र गतिविधिहरु प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री हुनुपर्ने बताउनुभयो ।

कार्यवाहक प्रमुख खत्रीले वार्षिक समीक्षा गोष्ठीबाट प्राप्त सल्लाह, सुझाव र पृष्ठपोषणलाई आत्मसाथ गरी पछिल्लो समय स्वास्थ्य क्षेत्र सुधारोन्मुख रहेकाले अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्वास्थ्य मन्त्रालयले दिने टार्गेट भन्दा पनि लाभग्राहीको संख्याको आधारमा प्रगतिको मापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुधार गर्नका लागि स्थानीय तहमार्फत आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरी परिचालन गरिएको बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताउँदै स्वास्थ्य सम्बन्धी योजना तर्जुमा तथा कार्यक्रम सञ्चालनमा स्थानीय प्रशासनबाट आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्यको कामले अन्तर्राष्ट्रियस्तरमा विकासको मापन गर्ने बताउँदै आगामी दिनमा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रादेशिक स्वास्थ्य केन्द्र पोखराका वरिष्ठ परिवार नियोजन सहायक नरबहादुर सारु, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शुक्रवारको समीक्षामा धवलागिरि गाउँपालिकाका पब्लिक हेल्थनर्स सम्झना भण्डारी, मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, प्रदेश आयुर्वेद चिकित्सालय म्याग्दीका कविराज निरीक्षक दामोदर शर्मा, प्रदेश अस्पताल बेनी म्याग्दीका मेडिकल रेकर्डर भीमराज बुढा, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बराल र मेडिक मोबाइलका परियोजना अधिकृत नारायण रिजालले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले समीक्षामा उठेका विषयवस्तु र सवाललाई क्रमशः कार्यान्वयनमा लगिने बताउनुभयो ।

प्रस्तुतीकरणमाथि कार्यक्रममा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो । कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुवेदीको अध्यक्षता र तथ्याङ्क सहायक सुशील ओझाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लिला गौतमले मन्तव्यसहित स्वास्थ्य क्षेत्रको समस्या र आवश्यक औषधी उपकरणबारे ध्यानाकर्षण गराउनुभएको थियो ।