• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा म्याग्दीमा आइतबार ६ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर जिल्लाको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका १९ वर्षीय सबिन गर्बुजा, अन्नपूर्ण ३ फगामका ५४ वर्षीया बोमाया पाईजा र ७५ वर्षीया शिलकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोले पुरिँदा मालिका गाउँपालिका ३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन तथा अन्नपूर्ण ६ गिबाङका ५ वर्षीया बालिका जेनी पूर्जाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो । पहिरोमा परेर अन्नपूर्ण ६ गिबाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका ३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता हुनुभएको उहाँले बताउनुभयो ।

पहिरोमा परेर मृत्यु भएकाहरुको शव निकालिएको छ भने बेपत्ता भएकाहरुको स्थानीयवासी, आफन्तजन र प्रहरीबाट खोजीकार्य भैरहेको छ । अविरल वर्षाकै कारण बाढीपहिरोले पाइप बगाउँदा म्याग्दी सदरमुकाम बेनीबजारमा खानेपानीको आपूर्ति बन्द भएको छ । यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र डिभिजन वन कार्यालय म्याग्दीको भुइँतलामा कार्यालयदेखि माथि बराहपाखो सामुदायिक वन क्षेत्रबाट खसेको लेदोसहितको भलबाढी पसेर क्षति पु¥याएको छ । उक्त भलबाढीले रोकिराखेको एउटा बस पनि सडकभन्दा तल खसालेको छ ।

वर्षाकै कारण बढेर आएको कालीगण्डकी नदीले बेनी नगरपालिका ८ स्थित करिब १ सय मिटर सडकमा लगाएको तटबन्ध भत्काएर सडक कटान गरेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो । त्यस्तै रघुगंगा नदीमा आएको बाढीले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको संरचना र प्रसारण लाइनको टावरमा समेत क्ष्ति पु¥याएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा बेनी–जोमसोम सडक बगाएको छ । सोही पालिकाको तातोपानी र पोखरेबगर जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको पक्की मोटरेबल पुलको पोखरेबगरतर्फ पिल्लर छेउबाट नदी पसेर सडक बगाएको छ । पोखरेबगरतर्फको भाग नदीमा आएको बाढीले कटान गरेर बगाउँदा बेनी–जोमसोम सडकमा सीधा यातायातको सञ्जाल बिच्छेद भएको छ ।

तीन दिनसम्म परेको अविरल वर्षाले मुख्य राजमार्गसहित जिल्लाका प्रमुख र सहायक मार्गको ठाउँठाउँमा पहिरो खसेर क्षति पुगेको प्रहरीले जनाएको छ । वर्षासँगै आएको बाढी पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।