• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सोमबारसम्म दुईतर्फी यातायात सञ्चालनको तयारी

बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खुलाउनका लागि नेपाली सेनाको सहयोगमा सोमबार ड्रोनमार्फत इन्धन ढुवानी भएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध सडक खुलाउन परिचालन गरिएका डोजर, स्काभेटरलगायत हेभी इक्वीपमेन्टमा इन्धन अभाव भएपछि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरीस्थित कुनौटाबाट रघुगंगा–१ बेगखोलासम्म ६ पटकमा गरी ४ सय लिटर डिजेल ड्रोनमार्फत ढुवानी गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । बाढीपहिरोका कारण पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको २ सय २ किलोमिटर दूरीको सडकमा ५० भन्दाबढी स्थानमा पहिरो खसेको थियो । त्यस्तै १० भन्दाबढी स्थानमा कालीगण्डकी नदीको कटानले सडकको बेससहित बगाएको छ । पहिरो पन्छाउँदै पर्वतको मालढुङ्गादेखि म्याग्दीको रघुगंगा–२ कुनौटासम्म सडक सञ्चालनमा ल्याइएको छ ।

उता कोरला नाकादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानीसम्म पनि दुईतर्फी सवारीसाधन सञ्चालन हुने गरी सडक खुलाइएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र नैनीबगर जोड्ने कालीगण्डकी नदीमाथिको पक्की मोटरेबल पुलको पहुँचमार्ग नदीले कटान गरेपछि त्यसको पुनर्निर्माणलाई तीव्रता दिइएको छ । अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम गरिएको हुँदा आउँदो सोमबारसम्म दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकासहित हिमालपारीको जिल्ला मुस्ताङ सीधा सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ । सडक अवरुद्ध भएपछि विद्युत् आपूर्ति र टेलिफोन सेवा समेत प्रभावित बनेको छ । सडक अवरुद्धकै कारण अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएकाले प्रभावकारी रुपमा राहत र पुनसर््थापनाको कार्यमा पनि समस्या भैरहेको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा यातायातको अभवाले मुस्ताङमा उत्पादित स्याउ बजारसम्म ल्याउन नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

नेपाल र चीनबीच अन्य नाका बन्द हुँदा मुस्ताङको कोरला नाका सञ्चालन गरिएको भए पनि बाढीपहिरोले सडक अवरुद्ध हुँदा सयौं सवारीसाधनहरु भन्सारमै रोकिएका छन् । बाढीपहिरोले सडक अवरुद्ध बनेपछि पर्यटकीय समयमा पर्यटक आगमन प्रभावित हुनुका साथै सोह्रश्राद्धमा कागबेनीमा पुगेर पिण्डदान गर्ने तथा मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजाका लागि जाने तीर्थयात्रीहरु समेत प्रभावित भएका छन् ।

नजिकिँदै गरेको दसैँ–तिहारलगायत चाडपर्वका लागि मुस्ताङ, तिब्बत र डोल्पाबाट भेडा–च्याङ्ग्र्रा बजारसम्म ल्याउन पनि सडक अवरोधले समस्या भएको छ । उत्तर र दक्षिणमा रहेका नेपालका दुई ठूला छिमेकी मुलुकहरु चीन र भारत जोडने बेनी–जोमसोम–कोरला सडक अरु नाकाको तुलनामा सबैभन्दा छोटो दूरीमा पर्दछ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने यो सडकखण्ड गण्डकी प्रदेशको लाइफलाइन अर्थात् (भाग्यरेखा) मानिन्छ ।