• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङस्थित खहरे वस्तीमा यही असोज ११ गते बिहान आएको भीषण बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । बाढीपहिरोले घर, गोठ, धानखेत, पसल तथा मिलमा क्षति पु¥याएपछि प्रभावित परिवार अहिले आफन्तको घर र विद्यालय भवनमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

केही समय अघिसम्म घरवस्ती र धानखेत रहेको खहरे क्षेत्र अहिले माटो, ढुङ्गा र गेगरले भरिएर बगरमा परिणत भएको छ । वस्तीभन्दा माथि टिकाबाङ र सिरकुमको बीच भाग पाङराङबाट खसेको पहिरो खहरेखोलामा मिसिएपछि आएको बाढी कल्भर्टमा थुनिएको थियो । थुनिएको पानीसँगै ढुङ्गा, माटो र गेगरसहितको लेदो वस्तीमा पसेपछि स्थानीयका घर, गोठ, धन्सार, खेतबारी, मिल तथा पसलमा ठूलो क्षति पुगेको हो ।

बाढीका कारण स्थानीयका १० वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १२ भन्दाबढी घरमा आंशिक क्षति पुगेको स्थानीयले बताएका छन् । खहरेखोलाको बाढीको कारण चारसय रोपनीभन्दा धेरै धानखेत बगरमा परिणत भएको छ । पसाउन लागेको धानबाली समेत नष्ट भएपछि स्थानीय किसानको ठूलो क्षति भएको छ । बाढीले स्थानीयका मिल, पसल र गोठमा क्षति पु¥याएको छ भने घरभित्र रहेका अन्नपात तथा अन्य सामग्री बगाएको छ । घरबास गुमाएका परिवार अहिले आफन्तको घर तथा शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

बिहान करिब ५ बजे बाढी आएपछि हाम फालेर ज्यान जोगाउन सफल भए पनि दुईवटा घर, गोठ र अन्नपात सबै बाढीपहिरोले पुरिएको पीडित टंकप्रसाद घर्तीले बताउनुभयो । परिवारसहित आफन्तको घरमा आश्रय लिएर बसिरहनुभएका घर्तीले तत्काल बास, खाद्यान्न र लत्ताकपडाको व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभएको छ । शारिरीक रूपमा अशक्त ८४ वर्षीय टंकप्रसादका बुबा नरबहादुर घर्ती मगरलाई बाढीको भेलबाट स्थानीय युवाले बोकेर उद्धार गरेका थिए ।

खहरे टोल सुधार समितिका अध्यक्ष तथा पीडित तुलप्रसाद पुनका अनुसार खोलामाथिको पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी वस्तीमा सोझिएको थियो । त्यसक्रममा घर, गोठ, अन्नपात तथा खेतबारीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । हाल तुलप्रसाद पुन र देवान घर्तीका परिवार शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । पुनले खहरेखोलाको नदी नियन्त्रण, कल्भर्टको उचित व्यवस्थापन तथा जोखिममा रहेको वस्तीको दीर्घकालीन पुनःस्थापनाको माग गर्नुभएको छ ।

बाढीबाट पूर्ण रूपमा घर क्षति हुनेमा तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकलगायत रहेका छन् । पूर्णप्रसादका छोरा देवेन्द्र पुनले बाढीले घर र खेत दुवै नष्ट गरेपछि खोलाको बहाव नियन्त्रणका लागि तत्काल डोजर सञ्चालन गर्न आवश्यक पर्ने इन्धनको खर्चसमेत जुटाउन कठिन भएको बताउनुभयो । पीडित गौदेवी पुनका अनुसार बाढीले घर र खेतबारीसँगै बाख्रा तथा कुखुरासमेत बगाएपछि परिवारको बसोबास र दैनिक गुजारामा थप समस्या भएको छ ।

स्थलगत अनुगमनपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले खहरेका बाढीपहिरो पीडितका लागि प्रारम्भिक चरणमा हेलिकप्टरमार्फत खाद्यान्नलगायत राहत सामग्री पठाइएको जानकारी दिनुभयो । सडकमार्गबाट समेत राहत तथा सहयोग पु¥याउन सकिने अवस्था बनेकाले पीडितको माग र आवश्यकताको आधारमा थप राहत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

स्थानीयको मुख्य माग वस्ती संरक्षण र नदी नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गैरेले घरबारविहीन परिवारका लागि अस्थायी आश्रयको व्यवस्था तथा पुनर्निर्माणको योजना समेत अगाडि बढाइने बताउनुभएको छ ।