• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको रघुगंगा गाउँपालिका १ नम्बर वडा बेगखोलामा सभाहलसहितको तीनतले आधुनिक सुविधासम्पन्न वडा कार्यालयको भवन निर्माण भएको छ । नवनिर्मित वडा कार्यालय भवनको आइतबार एक समारोहबीच रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

रघुगंगा गाउँपालिकाको एक करोड ४० लाख रुपैयाँ र स्थानीयवासीको साढे छ लाख रुपैयाँको लागतमा वडा कार्यालयको भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । तीनतले भवनमा नौ वटा कोठा, सभाहल, स्तनपान कक्ष र घेराबारको व्यवस्था गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार भवनबाट वडा कार्यालयको नियमित सेवासहित कृषि तथा पशु प्राविधिक र मेलमिलाप सम्बन्धी सेवा प्रदान गरिनेछ ।

भवनमा वडा अध्यक्षको कार्यकक्ष, शौचालयसहित पार्किकस्थलको समेत व्यवस्था गरिएको छ । भवनको उद्घाटनपछि सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भण्डारीले वडावासीलाई सरकारी सेवासुविधाहरु वडा कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले तत्काल समाधान गर्न सकिने समस्याका लागि गाउँपालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य समेत भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नं. ५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जा र २ नम्बर वडाका वडा अध्यक्ष अमृत भण्डारीले भौतिक संरचनासँगै जनशक्ति व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभएको थियो । एनआरएनए यूकेका पूर्व अध्यक्ष योगकुमार फगामीले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको मर्मत र आपत्कालीन अवस्थामा बिरामी परेका तथा प्राकृतिक विपत्तिका कारणले समस्या भएका वडावासीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

बेगखोला समाज पोखराका अध्यक्ष यमकुमार पुर्जा र बेगखोला महिला समाज पोखराकी टीका पुर्जाले मन्तव्य व्यक्त गर्दै आफ्नो जन्म गाउँमा आवश्यक परेको समयमा सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा भवन निर्माणका लागि २ दशमलव ५ आना जग्गा उपलब्ध गराउने हितमान फगामी तथा डेढलाख रुपैयाँ आर्थिक सहयोग गर्ने गिरिप्रसाद गर्बुजा, धनबहादुर गर्बुजा, मिनकुमार गर्बुजा, यामकुमार पुर्जा र लालकुमारी पुर्जा लगायतलाई सम्मान गरिएको थियो ।

स्वर्गीय श्रीमान् मनबहादुर गर्बुजा र स्वर्गीय छोरी झकुमारी गर्बुजाको स्मृतिमा एकलाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग गर्ने धनमाया पुनसहित सहयोगदातालाई सम्मान गरिएको थियो । भवन निर्माणमा योगदान पु¥याउने स्थानीयवासी तथा कर्मचारीलाई दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो । वडा अध्यक्ष बिलबहादुर फगामीको अध्यक्षता, वडा सदस्य सोमिता पुनको स्वागत र वडा सचिव कविता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयले नृत्य, नौमती बाजा, पुख्र्यौली नृत्य तथा गीत, सङ्गीत प्रस्तुत गरेका थिए ।