२४ पुस, काठमाडौं । विश्वकपमा सहभागिता कुनै पनि खेलका खेलाडीको सबैभन्दा ठूलो सपना हो । राष्ट्रकै लागि पनि गर्वको विषय हो । तर, सबैको हकमा त्यो सपना साकार हुँदैन । किनभने, त्यो साकार गर्न खेलाडीको हकमा अथाह लगन आवश्यक पर्छ । राष्ट्रको हकमा पनि खेलप्रतिको प्रतिबद्धता र पूर्वाधारमा पर्याप्त लगानी चाहिन्छ ।
नेपाल र नेपाली खेलाडीको हकमा क्रिकेट मात्र त्यस्तो विधा थियो छ, जसका सिनियर वा जुनियर, महिला र पुरुष टोलीले विश्वकपको ढोका उघारेका छन् । र, आम नेपाली खेलप्रेमीलाई खुसी दिएका छन् ।
यसबाहेकका फुटबल, भलिबल, बास्केटबलजस्ता चर्चित खेलले नेपाली खेलप्रेमीलाई त्यो खुसी दिन सकिरहेका छैनन् ।
तर कम सुनिने ‘खो खो’ खेलमा भने नेपालले छलाङ मारेको छ । यो खेलको पहिलो विश्वकपमै नेपालको सहभागिता हुन लागेको हो । अझ खुसीको कुरा प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
१३ देखि १९ जनवरीसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालसहित कूल २४ राष्ट्रको सहभागिता हुनेछ । यस खेलको एकैपटक महिला र पुरुषको विश्वकप हुन लागेको हो ।
खो खो मा विशेष गरी दक्षिण एसिया र एसियाकै टिमहरूको बाहुल्यता रहेको छ । खो खो विश्वकपमा दक्षिण एसियाका माल्दिभ्सबाहेक बाँकी ६ वटै टिमले सहभागिता जनाउँदैछन् भने एसियाबाट इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरियाले पनि खेल्दैछन् ।


