साउन १४, २०८२ बुधवार । प्रताप बानियाँ
म्याग्दी– हिमाली जिल्ला म्याग्दीको गाजने गाउँमा स्याउको परीक्षण उत्पादन सफल भएको छ । जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरस्थित रहेको गाजने गाउँमा मुस्ताङबाट ल्याएर लगाइएको स्याउका विरुवाले यस वर्षदेखि उत्पादन दिन थालेको हो ।

वि.सं. २०७८ सालमा गाजनेका स्थानीयवासीले हिमालपारीको जिल्ला मुस्ताङबाट स्याउका विरुवाहरु खरिद गरेर ल्याएका थिए । करिब २५ घर परिवारको बसोबास रहेको गाजने गाउँमा अधिकांश स्थानीयले मुस्ताङबाट ल्याइएका स्याउका विरुवाहरु लगाएका हुन् । उक्त स्याउका विरुवा लगाएको छोटो समयमै बोटमा स्याउको दाना लागेपछि अहिले स्थानीय किसानहरु हर्षित भएका छन् ।

समुन्द्री सतहदेखि २ हजार मिटरभन्दा माथिको उचाइमा रहेको गाजनेमा यसअघि पनि स्याउ लगाइएको थियो । तर गाजनेमा स्याउको चोरी हुन थालेपछि स्थानीयवासीले लगाउन छाडेका थिए । तर अहिले पछिल्लो समयमा भने मुस्ताङबाट स्याउका विरुवाहरु ल्याएर परीक्षणको रुपमा लगाइएको हो । मुस्ताङबाट स्याउका विरुवा ल्याएर परीक्षणको रुपमा लगाइएको स्याउले उत्पादन दिएर परीक्षण सफल भएपछि स्थानीयवासीयले यस वर्षदेखि थप विरुवा लगाउने तयारी गरेको बताएका छन् ।

स्याउ लगाएको तीन वर्षको अवधिमै गत वर्षदेखि स्याउ फल्न थालेकोमा यसवर्ष अलि राम्रोसँग फलेको जगन्नाथ (धाम) मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय निलकण्ठ शर्माले बताउनुभयो । उहाँले गाजनेमा स्याउको परीक्षण उत्पादन सफल भएपछि अब व्यावसायिक रुपमा लगाउने योजना आफूहरुले बनाएको सुनाउनुभयो । जिल्लाको उच्च भेग, चिसो हावापानी भएकाले गाजने गाउँमा स्याउ उत्पादन सफल भएको दावी समेत गरिएको छ ।

बोटमा स्याउका दाना लागेपछि विभिन्न प्रजातिका लामोलामो पुच्छर भएको चराचुरुङ्गीहरु समेत आएर स्याउ खाने गरेको स्थानीय शर्माले बताउनुभयो । उहाँका अनुसार गाजनेमा मुस्ताङबाट गोल्डेन र रेड प्रजातिको स्याउ ल्याएर लगाइएको हो । यसअघि गाजने गाउँमा २०३८/०४० सालमा पनि स्याउ लगाइएको थियो । त्यतिबेला सार्वजनिक ठाउँमा स्याउ लगाइएको थियो भने अहिले स्थानीयले आ–आफ्नो निजी पाखोबारी र व्यक्तिगत जग्गाजमिनमा स्याउको खेती गरेका छन् ।

यसवर्ष गाजनेका यामबहादुर बानियाँ, यामबहादुर कार्की, तिलक खत्री, निलकण्ठ शर्मा, खड्कबहादुर खत्री र सीता कार्कीले लगाएको बारीमा स्याउले उत्पादन दिएको जनाइएको छ । ०७८ सालमा यहाँका स्थानीयले परीक्षणको रुपमा २०÷२५ गोटाका दरले स्याउका विरुवा लगाएका थिए । अहिले अन्य किसानहरु पनि स्याउ खेती गर्नेतर्फ आकर्षित भएका छन् । जग्गा बाँझो राख्नुभन्दा स्थानीय किसानहरुले स्याउ लगाउनेतर्फ चासो देखाएका हुन् । परम्परागत खाद्यान्न बालीभन्दा फलफुल खेती र नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले गाजनेमा फलेको स्याउको दाना देख्दा व्यावसायिक रुपमा खेती गर्न सकिने अनुमान गरेको बताउनुभयो । तर उहाँले अझै एक दुई वर्ष परीक्षणकै रुपमा स्याउ लगाउनुपर्ने र त्यसको उत्पादन अनुसार मात्रै व्यावसायिक रुपमा अगाडि बढाउन सकिने बताउनुभयो । स्याउ खेतीका लागि हिउँदको समयमा हिमपात पर्नुपर्ने र चिसो हावापानी हुनुपर्ने उहाँले जोड दिनुभयो । सामान्यतयाः २ हजार मिटरदेखि माथिको उचाई भएको भूगोलमा स्याउको खेती गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।



