साउन २५, २०८२ आइतबार । प्रताप बानियाँ
म्याग्दी– ऋषितर्पणी अर्थात् जनैपूर्णिमा पर्वको अवसरमा शनिवार ढोरपाटनको उत्तरगंगा ढोरबराहमा हजारौंको सङ्ख्यामा पुगेका भक्तजनहरुले पूजाअर्चना गरेका छन् । बागलुङको पश्चिम क्षेत्रमा अवस्थित ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकामा रहेको प्रसिद्ध धार्मिकस्थल उत्तरगंगा ढोरबराहथानमा बागलुङसहित देशका विभिन्न जिल्लाहरुबाट पुगेका भक्तजनहरुको घुइँचो लागेको थियो ।

जनैपूर्णिमाको दिन शनिवार बिहानैदेखि ढोरबराहथानमा पुगेका भक्तजनहरुले उत्तरगंगाको जलले स्नान गरी पूजाअर्चना र दर्शन गरेका थिए । म्याग्दी, बागलुङ र पूर्वी रुकुम जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने ढोरपाटन उपत्यकामा रहेको उत्तरगंगा ढोरबराहमा पूजा गर्न जनैपूर्णिमाको अघिल्लो दिन र सोही दिनमा भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका हुन् । कतिपय भक्तजनहरु शुक्रवार बागलुङको बुर्तिबाङमा बास बसेर शनिवार बिहान मात्रै ढोरपाटन गएका थिए ।

ढोरबराहथानमा भेडाको साँढले बलि दिने प्रचलन रहिआएको छ । उत्तर भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराहथानको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ । मनोकामना पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेडाको साँढ बलि दिँदा मागेको फल प्राप्त हुने जनविश्वास पाइन्छ ।

उत्तरगंगा ढोरबराहथानमा जनैपूर्णिमा र चण्डीपूर्णिमा पर्वको अवसरमा विशेष रुपमा पूजाअर्चनाको साथै बलि दिएर उत्तरगंगा ढोरबराहको पूजा गर्ने गरिन्छ । ऋषितर्पणी अर्थात् जनैपूर्णिमामा उत्तरगंगा ढोरबराहमा ठूलो मेला समेत लाग्ने गर्दछ । यसपटक ढोरबराहमा पूजाआजासहित भलिबललगायत खेलकुद तथा कलाकारहरुको प्रस्तुतीसहित मेलाको आयोजना गरिएको थियो ।

उत्तरगंगा ढोरबराहमा मेला भर्नको लागि छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजनहरु आउने गरेको ढोरपाटन नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । उत्तरगंगा ढोरबराहथानमा यसवर्ष झण्डै १२ सयवटा भेडाको साँढ बलि चढेको र २० हजार भक्तजनहरुले दर्शन गरेको स्थानीय व्यवसायी शेरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहथान रहेकाले ‘उत्तरगंगा ढोरबराह’ भन्ने गरिएको हो । यहाँ सातमुले मुल, बराहमुल र अपुतामुल गरी तीनवटा मुल रहेका छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ भने यसै मुलबाट बाईसधारा बग्छन् । बराहमुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ ।

वर्षात्को समयमा ढोरपाटनमा ढकमक्क बुकी फूल फूल्ने हुँदा जनैपूर्णिमाको दिन बलि राजा प्रकट हुने भएकाले उनकै स्वागत गर्न उत्तरगंगा मेला लाग्ने गरेको लोककथन रहेको छ । यसै स्थानमा कागभुसुन्डी नाम गरेका ऋषिले समेत कागको रुपधारण गरी बसेका थिए भन्ने धार्मिक मान्यता समेत रहेको छ ।

उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको बर माग्ने, पितृलाई तर्पण दिने र मृतकका कपडा समेत लगेर बगाउने गरिन्छ । छोराको बर माग्नेले बाईसधारामा नुहाएर बहरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने प्रचलन छ । उत्तरगंगा ढोरबराहथान देवतालाई आफूले मागेको बर पुरा भएपछि भेडाको साँढ बलि दिने गरिन्छ । धार्मिक तथा पर्यटकीय गन्तव्यको आकर्षकस्थल बनेको ढोरपाटन क्षेत्रमा उत्तरगंगा ढोरबराहसँगै रुद्रताल, छेन्टुङ गुम्बा लगायतका मठमन्दिरहरु छन् ।

ढोरपाटन उपत्यका पुग्ने पर्यटकहरु पैदलयात्रा तथा घोडा चढेर ‘बुकीपाटन’सम्म पुग्ने गर्दछन् । विगतमा विदेशी शिकारी मात्रै पुग्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । पोखराबाट आउनुभएका दलमान घर्तीमगरले उत्तरगंगा ढोरबराहले मनोकामना पूरा गरिदिने विश्वासका साथ आफू पूजा गर्न ढोरपाटन आएको अनुभव सुनाउनुभयो ।



