• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

काठमाडौं । केयरगिभरका रूपमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाँचवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । उच्च अदालत पाटनको पछिल्लो अन्तरिम आदेशपछि ५ वटा स्वास्थ्य संस्था आधिकारिकरुपमा छनौट भएका हुन् ।

दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक श्रमिक (केयरगिभर) को स्वास्थ्य परीक्षण गर्न गत पुस ९ गते ५ वटा स्वास्थ्य संस्थालाई वैदेशिक रोजगार बोर्डले छनौट गरेको थियो । छनोट भएका पाँच वटा स्वास्थ्य संस्थालाई काम गर्न रोक लगाउनुपर्ने भन्दै परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पछि उनीहरुले काम गर्न पाउने भएका हुन् ।

पुस ४ गते काठमाडौंस्थित इजरायली दूतावासले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि इजरायलको ‘जनसख्या तथा अध्यागमन प्राधिकरण (पिवा) बाट आफ्नो मापदण्ड पूरा गर्ने पाँच वटा स्वास्थ्य संस्थालाई अनुमति दिइएको जानकारी परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएको थियो ।

जसमा नेपाल मेडिसिटी अस्पताल, स्टार हस्पिटल, ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रालि रहेका छन् । यी स्वास्थ्य संस्थालाई पहिलो चरणमा पुस १७ देखि २३ गतेभित्र तोकिएको श्रमिकलाई स्वास्थ्य परीक्षण गर्न अनुमति दिइएको थियो । इजरायलले पहिलो चरणमा एक हजार जना सहायक श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ ।

छनोट भएका स्वास्थ्य संस्थाहरू नेपाल सरकारबाट विशिष्ट श्रेणीको अनुमतिप्राप्त ‘ए’ र ‘बी’ ग्रेडको अन्तर्राष्ट्रियस्तरको अस्पताल र डायग्नोस्टिक ल्याब हुन् ।

नेपालका स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरमा प्रश्न उठाउँदै गन्तव्य देशहरूले आफैंले अन्तर्राष्ट्रिय मापदण्ड पुगेको स्वास्थ्य संस्थामार्फत श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आइरहेका छन् ।