मंसिर २, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– कोशिश संस्था काठमाडौँको आयोजना र बेनी नगरपालिका म्याग्दीको समन्वयमा सोमबार सदरमुकाम बेनीमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । मानसिक रोगबाट ग्रसित व्यक्तिहरुको उपचार तथा व्यवस्थापन सम्बन्धी विषयमा स्थानीय सरोकारवालाहरुसँग अन्तत्र्रिmया गरिएको हो ।
उक्त अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले मानसिक रोगबाट प्रभावित व्यक्तिहरुको उपचार तथा व्यवस्थापन गर्नका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी २००६ बारे अन्तत्र्रिmया गरिएको कार्यक्रममा अपाङ्गता क्षेत्रभित्र पनि मानसिक रोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

अन्तत्र्रिmयामा सहभागी बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सरोकारवालाहरुले मानसिक रोगीहरुको उचित हेरचाह, उनीहरुले पाउने हक अधिकार तथा सेवासुविधाको बारेमा संघ सरकारले नीतिगत रुपमा सुधार गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समय मानसिक रोगीहरुको सङ्ख्या बढ्दै गैरहेको हुँदा अब राज्यले समयमै मानसिक रोगको रोकथाम तथा उपचारमा आवश्यक कदम चाल्नुपर्ने सहभागीहरुको भनाइ छ । मानसिक रोगको नियन्त्रणमा सबै क्षेत्रबाट चासो दिनुपर्ने बताइएको थियो ।
कार्यक्रममा कोशिशका वरिष्ठ सामाजिक कार्यकर्ता मञ्जु क्षत्रीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६ को विषयमा आफ्नो कार्यपत्र प्रस्तुतीसहित सहजीकरण गर्नुभएको थियो । यसैगरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले भोग्दै आएको अवरोधहरुका बारेमा धेरै जानकारी गराइएको थियो भने उनीहरुको उपचार, हेरचाह तथा व्यवस्थापन र अपाङ्गताको क्षेत्रभित्र पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको बारेमा विशेष जोड दिइएको थियो । कोशिशले मानसिक स्वास्थ्य समस्या भएकाहरुको उद्धार, उपचार, व्यवस्थापन र पुनसर््थापनासँगै फ्लोअफ समेत गर्दै आइरहेको वरिष्ठ सामाजिक कार्यकर्ता क्षत्रीको भनाइ छ ।
कार्यक्रमलाई आफ्नो भनाइसहित समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिहरुको उद्धार तथा उपचारका लागि परिवारले पनि सम्हाल्न नसकेको अवस्थामा नगरपालिकामार्फत कोपिला नेपाल, कोशिशलगायत संस्थामा पठाउने गरिएको बताउनुभयो । उहाँले स्थानीय तहको क्षमताले मानसिक रोगी वा यस्ता व्यक्तिहरुलाई गर्ने सहयोगमा कहिलेकाहीँ नभ्याउने भएकाले छोटो समयका लागि भने उद्धार, राहत र उपचारको लागि पहल गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मानसिक समस्या भोगिरहेका व्यक्तिहरु तथा हिंसामा परेका महिला बालबालिकाहरुको उद्धार एवं उपचारको पहल गरिरहेको बताउँदै पीडितहरुलाई छोटो समयका लागि अल्पकालीन सेवा केन्द्र बेनी तथा दिर्घकालीन रुपमा बागलुङ, पोखरा र काठमाडौँसम्म पठाएर उपचार एवं व्यवस्थापनको काम निरन्तर रुपमा गर्दै आइरहेको बताउनुभयो ।
विभिन्न १० वटा अपाङ्गताभित्र मनोसामाजिक अपाङ्गता पनि गाभिएको छ । मानसिक स्वास्थ्यलाई जोडेर कार्यक्रमहरु सञ्चालन तथा बहस र पैरवी गर्न सकेमा मानसिक रुपमा स्वस्थ हुन सकिन्छ भने मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका व्यक्तिहरुलाई परिवार, आफन्त र समाजबाट सहयोगसँगै माया गर्न आवश्यक छ ।


