• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस १८, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले शुक्रवार विविध कार्यक्रमसहित आफ्नो ३५औं वार्षिकोत्सव मनाएको छ । क्याम्पसको आयोजनामा विभिन्न विधातर्फ पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित ३५औं वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसर पारेर क्याम्पसबाट गतवर्ष सन् २०२५ मा प्रकाशित म्याग्दी गुरु रिसर्च जर्नल भोलुम ८ र एकेडेमिक जर्नल अफ हुम्यानिटिज एण्ड सोसल साइन्स भोलुम २ को छपाई प्रति विमोचन गरिएको छ । यसैगरी क्याम्पसमा अध्यापनरत रही उपल्लो योग्यता हासिल गर्ने सहप्राध्यापक टिकाराम सापकोटा र सहायक प्राध्यापक हिराबहादुर बरुवाललाई सम्मान गरिएको थियो ।

त्यस्तै प्राध्यापक तथा कर्मचारीतर्फ दिर्घ सेवा गरेवापत पूर्व क्याम्पस प्रमुख गोरखबहादुर जिसी र पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी तथा गएको आर्थिक वर्ष २०८१÷०८२ मा कार्यसम्पादन मूल्याङ्कनको आधारमा उत्कृष्ट प्राध्यापक तथा कर्मचारीलाई समेत सम्मान र पुरस्कृत गरिएको छ । सम्मानित तथा पुरस्कृत हुनेहरुमा सहप्राध्यापक टिकाराम सापकोटा, सहायक प्राध्यापक मेघा रिजाल र कर्मचारी घनश्याम पौडेल रहनुभएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि, क्याम्पसका अध्यक्ष र प्रमुखले सम्मान गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहकै अवसरमा यसअघि विभिन्न समयमा क्याम्पसमा स्थापित छात्रवृत्ति कोषबाट उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ भने वार्षिकोत्सवमा साताव्यापी रुपमा आयोजित विभिन्न खेलकुदसहितका प्रतियोगिताहरुमा विजेता, उपविजेता र उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई समेत पुरस्कृत तथा सम्मान प्रदान गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक÷संरक्षक तथा पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठले आजभन्दा ३५ वर्ष अगाडि समुदायको पहलमा स्थापना भएको क्याम्पस अहिले स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल विस्तारै आउने बताउँदै वर्तमान अवस्थामा प्रविधि अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमालेका उपसचिव खड्क गिरी र नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णकुमार विश्वकर्माले व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले धेरै टाढासम्म हिँड्नुपर्ने गन्तव्य रहेको भन्दै विभिन्न क्षेत्र तथा अन्य क्याम्पसहरुसँग पनि समन्वय र सहकार्य गरिएको बताउनुभयो । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँका प्रमुख महाप्रसाद हड्खले, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखराका प्रमुख धर्मराज बराल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी बहुमुखी क्याम्पसको अभिभावक संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष अर्जुन पौडेल, स्वतन्त्र विद्यार्थी यूनियन सचिव मञ्जुर कटुवाल र क्वालिटी सर्कलका संयोजक सुस्मिता शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्याम्पसका उपप्राध्यापक नारायण पौडेलले सञ्चालन गर्नुभएको विशेष साङ्गीतिक कार्यक्रममा जनवादी गायक जीवन शर्मा, म्याग्दीका कलाकारद्वय अमित विश्वकर्मा र करण कँडेलले आ–आफ्नो साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर कार्कीको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले स्वागत तथा विविध नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।