जन्मिएको छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम आइतबारदेखि सुरु भएको छ । सो कार्यक्रम अन्तर्गत हिमाली जिल्ला म्याग्दीमा १२ हजारभन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत म्याग्दी जिल्लामा आइतबार र सोमबार दुई दिनसम्म बालबालिकाहरुका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन स्वयसंविकाहरुलाई परिचालन गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका खोप सुपरभाइजर एवं सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम बेनीबजारको वीरेन्द्रचोक र प्रदेश अस्पताल बेनी म्याग्दीको परिसरमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने स्थान तोकिएको छ । सोही क्रममा बालबालिकाहरुको तौल, उचाई र मुवाक समेत नापजाँच गरिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले तोकिएका विभिन्न स्थानहरुबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । छुटेका बालबालिकाको घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने तालिका रहेको छ । सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकाहरुलाई निःशुल्क रुपमा खुवाउने व्यवस्था मिलाएको छ ।




