हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखानम्बर (प्यान) प्रमाणपत्रको सेवा उपलब्ध हुने भएको छ । विगतमा आन्तरिक राजस्व कार्यालय, बागलुङमा जानुपर्ने बाध्यता रहेकोमा अबदेखि बेनी नगरपालिकाबाटै प्याननम्बर उपलब्ध गराउन लागिएको हो ।
बुधवार एक समारोहबीच बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न शर्मा र आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालबीच स्थायी लेखानम्बर प्रमाणपत्र जारी गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले करदाता सेवालाई स्थानीय तहमार्फत गर्ने नीति कार्यान्वयन गर्ने क्रममा म्याग्दी जिल्लामा बेनी नगरपालिकाको कार्यालयबाटै यो सेवाको सुरुवात गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय बागलुङ अन्तरगत हालसम्म बागलुङ जिल्लाको गलकोट नगरपालिका, पर्वतको पैयुँ गाउँपालिकापछि म्याग्दीको बेनी नगरपालिकामा करदाता सेवा केन्द्र सुरू भएको जनाइएको छ । स्थानीय तहबाटै करदाता सेवा उपलब्ध हुन थालेपछि उद्योगी, व्यवसायी र करदातालाई सहज तथा पहुँचयोग्य भएको छ । सेवा शुभारम्भ एवं समझदारीपत्रमाथि हस्ताक्षर कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम लगायतको विशेष उपस्थिति रहेको थियो ।

विगतमा आन्तरिक राजश्य कार्यालयबाट प्रदान हुने सेवा अब नगरपालिकामार्फत हुने भएपछि सहज तरिकाले प्रदान गरिने नगर प्रमुख केसीले बताउनुभयो । चालु आवभित्रै नगरपालिकामा कर सम्बन्धी आन्तरिक राजश्व कार्यालयबाट अन्य सेवाहरु समेत विस्तार हुने भएका छन् । बेनी नगरपालिका भित्रका करदाताको समस्याहरु समाधान गर्नको लागि नगरपालिकाले करदाता सेवा कक्ष समेत बनाएर थप सहजता प्रदान गर्ने जनाएको छ । विगतमा स्थायी लेखानम्बर (प्यान) लिन बागलुङ जाँदा लाग्ने समय बचत भएको छ ।
नेपाल सरकारको कर भुक्तानी र करचुक्ता प्रमाणपत्र लिने लगायतका धेरै सुविधाहरू अनलाइन प्रणालीमार्फत नै प्राप्त भैरहेको छ । सेवा शुभारम्भ तथा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यूवराज थापाले गर्नुभएको थियो । स्थानीय तहबाटै स्थायी लेखानम्बर प्रमाणपत्र उपलब्ध हुने भएपछि सेवाग्राही उत्साहित भएका छन् भने राजश्वसँग सम्बन्धित अन्य सेवासुविधा पनि स्थानीय तहबाटै सञ्चालन गर्नका लागि उद्योगी तथा व्यवसायीहरुको माग रहेको छ ।

म्याग्दीमा रहेका विभिन्न छ वटा स्थानीय तहमध्ये बेनी नगरपालिकाले आफ्नै कार्यालयबाट स्थायी लेखानम्बर जारी गर्ने सुविधा सञ्चालनमा ल्याएपछि अब बेनीमै मुख्य गरी स्थायी लेखानम्बर जारी हुनेछ । यसैगरी व्यवसायलाई आयकरमा दर्ता गर्ने, प्यानसम्बन्धी विवरणहरु सच्याउने तथा संशोधन गर्ने, खारेज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रुपान्तरण गर्ने, अन्य आवश्यक सेवाका लागि आन्तरिक राजश्व कार्यालय बागलुङमा रिफर गर्नेलगायत सुविधाहरु प्रदान गरिनेछ । यसरी बेनीमै स्थायी लेखानम्बर जारी भएपछि बागलुङसम्म जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै समय र पैसाको पनि बचत हुने भएको छ ।



