• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिका ४ नम्बर वडा सिङ्गा र ५ नम्बर वडा पुलाचौरको विभिन्न टोल वस्तीमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । प्रभु बैँक लिमिटेड बेनी शाखाद्वारा दुवै ठाउँमा वडा कार्यालयसँगको समन्वय तथा सहकार्यमा मङ्गलवार र बुधवार ज्येष्ठनागरिक तथा लक्षित वर्गलाई भत्ता वितरण गरिएको हो ।

मङ्गलवार सिङ्गाको डाँडाखेत, पुलाचौरको भीरमुनि र पुलाचौरस्थित वडा कार्यालयमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो । डाँडाखेतमा ६४ जना, भीरमुनिमा २६ र पुलाचौरमा २ सय ५० जना गरी कुल ३ सय ४० जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो । यसैगरी बुधवार पुलाचौरको बगुवाखोला र सिङ्गाको वडा कार्यालयमा भत्ता वितरण गरिएको प्रभु बैँक बेनी शाखाका कर्मचारी सङ्गीता मल्ल हमालले जानकारी दिनुभयो ।

त्यस्तै बगुवाखोलामा २१ जना र सिङ्गामा २ सय ४० गरी कुल २ सय ६१ जनालाई बुधवार सामाजिक सुरक्षाभत्ता वितरण गरिएको कर्मचारी हमालले बताउनुभयो । दुई दिनमा कुल ६ सय १ जनालाई भत्ता वितरण गरिएको प्रभु बैँक बेनी शाखाले जनाएको छ । पुलाचौरको वडा कार्यालयमा आयोजित सामाजिक सुरक्षाभत्ता वितरण कार्यक्रमको ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले ८८ वर्षीय ज्येष्ठनागरिक ज्ञानबहादुर खत्रीलाई नगद रकम हस्तान्तरण गरी भत्ता वितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

ज्येष्ठनागरिक तथा लक्षित वर्गलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको भत्ता वितरण गर्दै वडाध्यक्ष बानियाँले बेनी नगरपालिका र वडा कार्यालयमार्फत प्रभु बैँकसँगको समन्वयमा ५ नम्बर वडा कार्यालय तथा वडाको विभिन्न टोल वस्तीमा पुगेर सामाजक सुरक्षाभत्ता विरतण गर्ने गरिएको बताउनुभयो । उहाँले तीनतीन महिनाको अवधिमा वडामा भत्ता वितरण भैरहेको बताउँदै यस कार्यमा वडाका जनप्रतिनिधि र कर्मचारीमार्फत आवश्यक सहजीकरणका साथै प्राविधिक सहयोग गरिएको बताउनुभयो । सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ताले ज्येष्ठनागरिक, विपन्न, एकल महिला र शारिरीक रुपमा अशक्तहरुलाई धेरै राहत मिलेको उहाँको भनाइ छ ।

नेपाल सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठनागरिकलाई तीन महिनाको एकमुष्ठ प्रतिव्यक्ति १२ हजार, एकल र विधुवा महिलालाई आठहजार, दलित ज्येष्ठनागरिक ६० वर्ष पुगेकालाई आठहजार, शारिरीक रुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई १२ हजार, अति अशक्तलाई छ हजार चारसय र दलित समुदायका बालबालिकाहरुलाई बाल पोषणस्वरुप एकहजार छ सय ५० रुपैयाँको दरले भत्ता वितरण हुँदै आएको बेनी नगरपालिका वडानम्बर ५ का वडा सचिव चिनुमाया पौडेलले जानकारी दिनुभयो ।

म्याग्दीमा प्रभु बैँकले बेनी नगरपालिकाको ४ र ५ नम्बर वडा, धवलागिरि र रघुगंगा गाउँपालिकाको सबै वडा, मंगला र मालिकाको केही वडा तथा अन्नपूर्ण गाउँपालिकाको २ वटा वडामा मात्रै प्रभु बैँकले ज्येष्ठनागरिक र लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आइरहेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको सबै पालिकामा प्रभु बैँकको शाखा सञ्चालनमा छ । वि.सं. २०५१ सालमा नेपालमा एमालेको पहिलोपटक बनेको मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारले ज्येष्ठनागरिकलाई मासिक एकसय रुपैयाँको दरले सामाजिक सुरक्षास्वरुप भत्ता वितरण कार्यक्रमको सुरुवात गरेको थियो ।