• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
असार १, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीको अध्यक्षमा रमेशसिंह ठकुरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न सङ्गठनको १४औं जिल्ला अधिवेशनबाट ठकुरीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
अधिवेशनबाट सङ्गठनको उपाध्यक्षमा भीमबहादुर घर्ती, महिला उपाध्यक्षमा वीरमाया विश्वकर्मा, सचिवमा मनबहादुर रोका, कोषाध्यक्षमा टेकप्रसाद सुवेदी, सहसचिवमा कुशुम पूर्जा र सहकोषाध्यक्षमा आन्जन खत्री निर्वाचित भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीले जनाएको छ ।
यसैगरी सङ्गठनको कार्यसमिति सदस्यहरुमा प्रकाश सुवेदी, दुतबहादुर गर्बुजा, गोविन्द थापा, कारण कँडेल, नवीन पुन, ठाकुर सुवेदी, गंगा बानियाँ, सीता राना, डम्मर सुवेदी, रेशमबहादुर बानियाँ, नवीन रोका, कृष्णप्रसाद सापकोटा, कुसुम शाही, बेलबहादुर विक र ईन्द्र पुन निर्वाचित हुनुभएको पूर्व अध्यक्ष जयराम सुवेदीले जानकारी दिनुभयो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले शिक्षकहरुले गरेको लामो आन्दोलनपछि भएको सहमतिले यति लामो समयको आन्दोलन आवश्यक नरहेको जस्तो बनाएको बताउनुभयो । उहाँले झण्डै एक महिना लामो आन्दोलन गर्दा पनि शिक्षकहरुले गरेको आन्दोलन अनुसारको उपलब्धि मिल्यो वा मिलेन भनेर प्रश्न उठाउने अवस्था सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँबरले राज्यको हरेक ठाउँमा आफ्नो अमूल्य योगदान दिने शिक्षकको पेशा मर्यादित भएकाले यसलाई जोगाएर राख्नुपर्ने बताउनुभयो । शिक्षकको मर्यादा र सम्मान अरुले दिने भन्दापनि स्वयं शिक्षकहरुले नै व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो ।
अधिवेशनको उद्घाटनसत्रमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोखरेल, सदस्य गोविन्द भण्डारी, गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीका निवर्तमान अध्यक्ष लेखबहादुर हमालको अध्यक्षता र सचिव भीमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।