भदौ २०, २०८२ शुक्रवार । रुप्से न्यूज
म्याग्दी– नेपाल निजामति कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ । कर्मचारी युनियनको ३६औँ स्थापना दिवसको अवसरमा बिहीबार बेनी नगरपालिका–५, बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु सहयोग गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी, कांग्रेस प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष सुमन सुवेदी लगायतले विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्री र विद्यार्थीहरुलाई उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको थियो । उपसभापति भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारी युनियनले गरेको सहयोग प्रशसंनीय रहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यलगायत आधारभूत क्षेत्रमा सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।

कर्मचारीहरुको पेशागत हकहितको संरक्षण र प्रवद्र्धनमा युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उपसभापति भण्डारीले राजनीतिक दल र कर्मचारीहरुको सहकार्यमा सार्वजनिक प्रशासनलाई थप सुदृढ तथा गतिशिल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएकोमा यसवर्ष बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सानो भए पनि सहयोग पु¥याउने उद्देश्यले २० हजार रुपैयाँभन्दा बढीको चामल, तेल, दाल, नुनलगायत दैनिक खाद्यान्न सामग्रीहरु वितरण गरिएको कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयका प्रअ धनबहादुर क्षत्रीले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा आवासीय सुविधासहित बौद्धिक अपाङ्गता स्रोतकक्षामा विद्यार्थीको संख्या २१ र सामान्य ३१ जना गरी ५२ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो । उहाँले छात्रावासमा आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र थप सुविधासम्पन्न संरचना आवश्यक रहेको बताउनुभयो । कर्मचारी युनियनका जिल्ला सहसचिव तारा बानियाँ (जगत)ले सञ्चालन र उपाध्यक्ष प्रदिप गौतमले स्वागत गरेको कार्यक्रममा सल्लाहकारहरु किरणचन्द्र सुवेदी, सञ्जिव बाँस्तोला, रमेश बस्नेत, अमृत कँडेल, विद्यालयका अध्यक्ष विज्ञान केसी लगायतको उपस्थिति रहेको थियो ।



