भदौ २१, २०८२ शनिवार । रुप्से न्यूज
म्याग्दी– ‘तिनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने नारासहित मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १९औं राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजना तथा बेनी नगरपालिकाको सहयोग एवं सहजीकरणमा शुक्रवार जिल्ला सदरमुकाम बेनीमा दिवस मनाइएको हो ।

दिवसको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका उपाय र सरोकारवालाहरुको भूमिकामाथि अन्तत्र्रिmया र छलफल गरिएको थियो । उक्त कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदीले मानव बेचबिखन तथा ओसारपोसारको अवस्था, कारण र असरहरुको विषयमा आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले समुदाय–प्रहरी साझेदारी अन्तर्गत आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका सहायक जिल्ला न्यायाधिवक्ता अरुण सापकोटा, म्याग्दी बहुमुखी क्याम्पसका उप–प्राध्यापक तारानाथ शर्मा र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मानव बेचबिखन तथा ओसारपोसार जस्तो जघन्य अपराधको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी घटनाहरु भएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन सुझाव दिनुभयो ।

प्रजिअ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दप्रसाद सुवेदीले स्वागत गर्नुभएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदुरमुकामस्थित बेनीबजारमा प्रभातफेरी ¥याली निकालिएको थियो । हरेक प्रकारको मानव बेचबिखनमा अझै विशेष गरेर बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजानको लागि सरकारले विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । नेपालमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र नियमावली २०६४ समेत बनेको अवस्था छ ।

तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन हुन नसक्दा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । दिवसको नारा अनुसार संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारहरु मिलेर काम गर्नुपर्दछ । तसर्थ, सबैको संयुक्त प्रयास र हातेमालोबाट मात्रै मानव बेचबिखनको जालो अन्त्य गरी सुरक्षित, न्यायपूर्ण र मर्यादित समाजको निर्माण हुन सक्ने देखिन्छ ।



