भदौ २२, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नारासहित म्याग्दीमा यसवर्ष विविध कार्यक्रमसहित निजामति सेवा दिवस–२०८२ मनाइएको छ । निजामति सेवा दिवस मूल समारोह समितिको आयोजना र कर्मचारी मिलन केन्द्र म्याग्दीको समन्वयमा विभिन्न कार्यक्रमहरु आयोजना गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा व्याडमिन्टन, फुटसल र हाजिरीजवाफ प्रतियोगिता आयोजना गनुृका साथै गलेश्वर मन्दिर परिसरमा सरसफाइ तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको थियो । जनप्रतिनिधि र निजामति कर्मचारीहरुबीच भएको फुटसल प्रतियोगितामा कृष्णकुमार विश्वकर्माको समूह प्रथम र तारानाथ सुवेदीको समूह द्वितीय भई क्रमशः नगद पाँचहजार र २५ सय रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा निजामति सेवा दिवसको अवसरमा अन्तर कार्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम सिबिए म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाको अध्यक्षता, म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको प्रमुख आतिथ्य, सिबिएका कोषाध्यक्ष एवं नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीका अध्यक्ष सोमबहादुर केसीको स्वागत र नेपाल निजामति कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

जिल्लास्थित विभिन्न १५ वटा कार्यालयहरु सहभागी भएको प्रतियोगितामा जिल्ला हुलाक कार्यालय म्याग्दी प्रथम, प्रदेश अस्पताल बेनी म्याग्दी द्वितीय, जिल्ला प्रशासन कार्यालय तृतीय र बेनी नगरपालिका सान्त्वना भई क्रमशः नगद १५ हजार, १२ हजार, नौहजार र चारहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । विजयी समूह तथा कार्यालयलाई आइतबार निजामति सेवा दिवसको अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले कर्मचारीले नागरिकलाई ऐननियम अनुसार सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले निजामति सेवा दिवस मनाइरहँदा दिवसको मूल नारालाई आत्मसाथ गर्दै सार्वजनिक सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं बेनी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको अध्यक्षता र सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी समेत गरिएको थियो ।



