• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज १, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– जिल्ला कारागार कार्यालय म्याग्दीमा तोडफोड गरेर त्यहाँ रहेका थुनुवा र कैदीबन्दी भगाउने विभिन्न छ जनालाई पक्राउ गरिएको छ । गएको बुधवार बिहान कारागार कार्यालयमा केही अपरिचित व्यक्तिहरुको समूहले कारागार कार्यालयको मूल ढोका फोडेर कैदीबन्दी भगाउने कार्यमा संलग्न भएको हुँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कारागार परिसरभित्र अनधिकृत रुपमा प्रवेश गरी त्यहाँ रहेका ८८ जना कैदीबन्दीहरुमध्ये ७६ जना पुरुष कैदीबन्दीलाई भगाइएको थियो । कैदीबन्दी भगाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारागार ऐन २०७९ विपरीतको कसुरमा म्याग्दी जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कारागारबाट कैदीबन्दी भगाउनेहरुलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको बेनी नगरपालिका २ खबरा बस्ने २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा १ रत्नेचौर बस्ने २६ वर्षीय कृष्णबहादुर मगर, खबरा बस्ने २७ वर्षीय सुनिल थापामगर, ३१ वर्षीय सुसन थापामगर र १९ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पौडेलले बताउनुभयो । उहाँले कारागारभित्र रहेका थुनुवा तथा कैदीबन्दी भगाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत तीव्र रुपमा खोजीकार्य भैरहेको जानकारी दिनुभयो ।

यसैबीच जिल्ला कारागार कार्यालय म्याग्दीबाट भागेका ७६ जना कैदीबन्दीमध्ये हालसम्म ६२ जनालाई प्रहरीले कारागारमै फर्काएको छ । बेनपा–२, खबरास्थित रहेको कारागार कार्यालयमा गएको भदौ २५ गते बिहान कैदीबन्दीहरुले तालाचाबी फुटाएर ७६ जना कैदीबन्दीहरु भागेका थिए । मङ्गलवारसम्म भागेका कुल कैदीबन्दीमध्ये ६२ जनालाई पक्राउ गरी पुनः जिल्ला कारागार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

गत भदौ २३ र २४ मा जेनजी समूहको नाममा काठमाडौँसहित देशैभर भएको प्रदर्शनको क्रममा कारागार कार्यालयमा आन्दोलनकारीहरुबाट तोडफोड हुँदा थुनुवा र कैदीबन्दीहरु भागेका थिए । सो क्रममा केन्द्रीय कारागार कार्यालय काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट भागेका दुई जनालाई पनि प्रहरीले पक्राउ गरी म्याग्दी जिल्ला कारागार कार्यालयमा पठाएको छ ।