असोज २, २०८२ बिहीबार । प्रताप बानियाँ
म्याग्दी– हिमाली जिल्ला म्याग्दीमा चल्ने सार्वजनिक यातायातका सवारीसाधनहरुमा नयाँ भाडादर निर्धारण भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा नयाँ भाडादर कायम गरिएको हो ।

जिल्लाभित्र पक्की तथा कच्ची सडकमा गुड्ने बस, जीप, बोलेरो जीप तथा ट्याक्सीको नयाँ भाडादर निर्धारण गरी कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समितिले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकखण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपैयाँ, जीपको भाडा १५ रुपैयाँ, बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रति किलोमिटर १० रुपैयाँ र जीपमा प्रति किलोमिटर १५ रुपैयाँ भाडा तोकेको छ ।
जिल्ला भित्रका सबै पक्की सडकमा प्रति किलोमिटर बसले १८ रुपैयाँ र जीपले २५ रुपैयाँको दरले लिन पाउने छन् । यसैगरी जिल्लाभित्र सबै पक्की सडकहरुमा यात्रुवाहक ट्याक्सीलाई प्रति यात्रु प्रति किलोमिटर १७ रुपैयाँ र कच्चीमा प्रति किलोमिटर ३० रुपैयाँको दरले भाडादर कायम भएको छ । त्यस्तै माथि तोकिएको प्रति किलोमिटर भाडादरबाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामीण सडकको पक्की र ढलान भएको सडकमा यात्रुले प्रति किलोमिटर बसमा १४ र जीपको भाडा १८ रुपैयाँले तिनुपर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

तोकिएको भाडादर पालिकाहरुले सबै सवारीसाधनहरु र यात्रुले देख्ने स्थानमा टाँस्नुपर्ने बताउँदै प्रहरी, प्रशासनबाट नियमित रुपमा अनुगमन गरिने प्रजिअ तिवारीले जानकारी दिनुभयो । समितिको बैठकमा आगामी ७ दिनभित्र स्थानीय तहले तोकिएको प्रति किलोमिटरको दरले आ–आफ्नो क्षेत्रमा रहेका सवारी रुटसहित भाडादर उल्लेख गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्र«ाफिक प्रहरी कार्यालयमा पठाउने निर्णय भएको छ । यात्रु स्वयं आफूले पनि यात्रा गरेको प्रति किलोमिटरको आधारमा भाडा तिनुपर्र्ने, यातायात व्यवसायीले अटेर गरेमा तथा क्षमताभन्दा बढी यात्रुहरु बोकेको खण्डमा कानुनी कारवाहीका लागि सिफारिस समेत गरिने जनाइएको छ ।

भाडादर निर्धारण समितिको बैठकमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेमकुमरी पुन, यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्मा, बेनी नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

बैठकबाट जिल्लामा कायम गरिएको नयाँ भाडादरमा यातायात व्यवसायिले समेत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि भाडादर समायोजन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमिति गठन समेत गरिएको थियो । हालसम्म जिल्लाभर वि.सं. २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै कायम रहेको थियो । ग्रामीण क्षेत्रसम्म सडक स्तरोन्नति, ढलान र कालोपत्रे समेत भैसक्दा सार्वजनिक यातायातको भाडादर समायोजन नभएकोमा सर्वसाधारणहरुले गुनासो गर्दै आइरहेका थिए ।



