असोज ३, २०८२ शुक्रवार । रुप्से न्यूज
म्याग्दी– विद्यालयस्तरीय चिठ्ठीपत्रलेखन प्रतियोगितामा उत्कृष्ट हुने विजेता विद्यार्थीहरुका लागि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको चिठ्ठीपत्रलेखन प्रतियोगितामा सहभागी भई उत्कृष्ट चिट्ठीपत्र लेखेर विजेता बनेका विद्यार्थीलाई नगदसहित पुरस्कार वितरण गरिएको हो ।

बिहीबार हुलाक कार्यालयमा आयोजित एक समारोहबीच चिठ्ठीपत्रलेखन प्रतियोगिताका विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अध्ययनरत सीमा बुढामगर प्रथम, प्रकाश माध्यमिक विद्यालय बेनीको कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्वितीय र न्यू वेष्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतीय हुनुभएको थियो ।

विजेता विद्यार्थीहरुलाई क्रमशः नगद सातहजार पाँचसय, चारहजार र दुईहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले विजेता विद्यार्थीहरुलाई वितरण गर्नुभएको थियो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्वका बारेमा सचेतना जगाउने उद्देश्यले हुलाक कार्यालयमार्फत माध्यमिक विद्यालयस्तरीय चिट्ठीपत्रलेखन प्रतियोगिता सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

चिठ्ठीपत्रलेखन प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयहरुबाट गरेर कुल १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । हुलाक सेवाको बारेमा सर्वसाधारण, नागरिकहरूमा सचेतना फैलाउनको लागि ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ भन्ने विषयको शीर्षकमा चिट्ठीपत्रलेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्ला हुलाक कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पालिकास्तरका हुलाक कार्यालयहरुबाट विद्यार्थीहरुले चिठ्ठीपत्र लेखेर १० रुपैयाँको हुलाक टिकट टाँसी हुलाक कार्यालयमार्फत हस्तलिखित चिठ्ठीपत्र जिल्ला हुलाक कार्यालयमा पठाएका थिए ।

आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीलाई हुलाक टिकट तथा चिट्ठीपत्रको महत्व बुझाउन, चिट्ठीलेखनको ज्ञान, सिप र सिर्जनशीलताको विकास गर्नमा प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । जिल्ला हुलाक कार्यालयले विद्यार्थीसँग हुलाक कार्यक्रमसहित हुलाकसँग सम्बन्धित विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आइरहेको छ । सोही अवसरमा कार्यालय प्रमुख थापाले हुलाक कार्यालयको सेवासुविधा, महत्व र सूचना प्रविधिलगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चिठ्ठीपत्रलेखन प्रतियोगितामा विजेता बनेका विद्यार्थी तथा सम्बन्धित विद्यालयका शिक्षकहरु, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र हुलाक कार्यालयका कर्मचारीहरुले सहभागिता जनाएका थिए । कार्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रमको जिल्ला हुलाक कार्यालयका खरिदार मिनबहादुर बरुवालले सञ्चालन गर्नुभएको थियो ।


