• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज ३, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीमा शुक्रवार संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ मनाइएको छ । जिल्लास्तरीय कार्यक्रम आयोजक समिति म्याग्दीको आयोजनामा आज बिहान संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ अन्तर्गत सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली गरिएको हो ।

बेनीको वीरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी ¥याली हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–गणेशटोल–सङ्गमचोक–र बालमन्दिरचोक हुँदै पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संविधानसभा सदस्य गोविन्द पौडेलले सम्बोधन गर्नुभएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख एवं जिल्लास्तरीय कार्यक्रम आयोजक समितिका मूल संयोजक डिलकुमारी खत्रीले प्रभातफेरी कार्यक्रमको समापन गर्नुभएको थियो ।

समापन गर्नुअघि कार्यवाहक प्रमुख खत्रीले प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई धन्यवादज्ञापनको साथै आभार प्रकटसहित संविधानको कार्यान्वयन तथा लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, पूर्व सदस्य विनोद केसी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच संविधान दिवसको अवसरमा शुक्रवार साँझ वीरेन्द्रचोकमा दिप प्रज्ज्वलन गरिने भएको छ भने यसको संयोजन गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीसहित सामाजिक संघसंस्थाहरुले आयोजना गर्ने भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमापछि वीरेन्द्रचोकमा आयोजित कोणसभाको जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

वि.सं. २०७२ साल असोज ३ गते संविधान सभाबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको परिकल्पनासहितको संविधान जारी भएको थियो । सोही दिनको सम्झनामा रहेक वर्ष असोज ३ गतेका दिन विविध कार्यक्रमसहित संविधान दिवस मनाउने गरिन्छ ।