असोज १३, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ–तिब्बत सिमानाको कोरला नाका थप स्तरोन्नति र व्यवस्थित रुपमा सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आइतबार नाकाको अवलोकन तथा निरीक्षणपछि उहाँले यस्तो बताउनुभएको हो ।

कोरला नाकालाई व्यवस्थित बनाउनुपर्ने भन्दै अध्यक्ष ढकालले भन्नुभयो, ‘कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयोग गर्न सकिन्छ । त्यसका लागि नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।’ उहाँले कोरला नाकामा आवश्यक पर्ने पूर्वाधारहरु नेपालतर्फ पर्याप्त नभएकाले त्यसको निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन तथा जतिसक्दो छिटो अध्यागमन सेवा सुरु गर्न आग्रह गर्नुभयो ।

‘बाह्र दिन अघि मात्रै सञ्चालनमा आएको भन्सार कार्यालयबाट एक अर्ब ४० करोड राजस्व सङ्कलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक देखिन्छ । हामीले भन्सार तथा अध्यागमनका लागि आवश्यक पूर्वाधारहरु र कर्मचारी आदिको व्यवस्था गर्न सकेमा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ’ अध्यक्ष ढकालले थन्नुभयो । चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरलासम्म एकै दिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो सबैभन्दा छोटो रुट हुने तथा मानसरोवर पुग्नका लागि समेत यो बाटो छोटो हुने भएकाले यसलाई सहज र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कोरला नाका वरिपरी सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको नेचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्य सञ्चालन एवं बिजुली, खानेपानी, इन्टरनेटलगायत अन्य आवश्यक पूर्वाधारको व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव छ । गतवर्ष मात्रै मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिएको तथ्याङ्क रहेको उल्लेख गर्दै उहाँले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरु रहेकाले मानसरोवर जान पनि यो बाटो अत्यन्तै छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरुलाई समेत सहज हुने बताउनुभयो ।

अध्यक्ष ढकालले माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरुलाई लगाइँदै आइएको ५०० अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट कालीगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढङ्गले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रको तर्फबाट के गर्नुपर्छ त्यसमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष ढकालको नेतृत्वमा गण्डकी प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघका विभिन्न जिल्लाका अध्यक्षहरुको एक टोलीले कोरला नाकामा स्थलगत रुपमा अध्ययन, अवलोकन र निरीक्षणसहित भ्रमण गरेको जनाएको छ । दुई हप्ता अघिबाट सञ्चालनमा आएको मुस्ताङ–तिब्बत कोरला नाकामार्फत भैरहेको आयातनिर्यात, व्यावसायिक कारोबार, आवश्यकता र सम्भावनाको विषयमा अध्ययन तथा अवलोकन गरिएको भ्रमण टोलीमा सहभागी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कोरला नाकाको भ्रमणको क्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी, मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, सुरक्षा निकायलगायत स्थानीयवासीसँग सीमानाको अवस्थाबारे छलफल समेत गरिएको जानकारी दिनुभयो ।


