कात्तिक ५, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा बुधवार शुभकामना आदानप्रदान गरेर नेपाल संवत् ११४६ मनाइएको छ । नेवार समुदायको संस्था नेपाल भाषा मंकाः खल बेनीबजार म्याग्दीको आयोजनामा एक समारोहसहित शुभकामना आदानप्रदानका साथ नेपाल संवत्लाई स्वागत गरी मनाइएको हो ।

नेपाल भाषा मंकाः खलको बहुउद्देश्यीय सभाहलमा आयोजित समारोहको उद्घाटन गर्दै संविधानसभा सदस्य रेशमबहादुर बानियाँले नेपाल संवत् सबै नेपालीहरुको साझा मौलिक पर्व भएको बताउनुभयो । उहाँले नेपाल संवत्लाई सरकारले मान्यता दिनुका साथै घनीभूत बनाएर अगाडि बढाएको बताउँदै आगामी दिनमा पनि सबै नेपालीहरुले नेपाल संवतलाई नेपालको एउटा प्रमुख संवतका रुपमा मान्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिका वडानम्बर ७ बेनीका वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ र क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष कृष्णसिङ बानियाँले शंखधर साख्वाको परोपकारी भावना र उहाँले पु¥याएको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताउनुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएर उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने संस्थागत विद्यालयतर्फ विज्ञानकुमार श्रेष्ठ र यूरी श्रेष्ठ, सामुदायिकतर्फ रसिक श्रेष्ठ तथा दिपिका श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल भाषा मंकाः खल म्याग्दीको संस्थागत विकासका लागि बेनी नगरपालिका–८, क्याम्पसचोक बेनी निवासी नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले नगद एकलाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

नेपाल भाषा मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र सहसचिव सृजना श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख र विभिन्न जातजातिका प्रतिनिधिहरु लगायतले सहभागिता जनाएका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनुपूर्व नेपाल संवत्को अवसरमा जिल्ला सदरमुकाम बेनीबजारमा नेवार समुदायको झाँकी र परम्परागत भेषभूषासहितको ¥यालीले बजारको परिक्रमा गरेको थियो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.सं. ८८०)मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गर्नुभएको थियो ।



