कात्तिक ११, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– सोमबारदेखि मौसममा आएको परिवर्तनको कारणले हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्षको पहिलो हिमपात भएको छ । गए रातिदेखि नै वर्षा र हिमपात पर्न थालेको मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

समुन्द्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेका क्षेत्रहरु मुक्तिनाथ, घमी, चराङ, दामोदरकुण्ड, लोमन्थाङ, छोन्हुप, छोसेरसहित कोरला नाका क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ मन्दिरका साथै आसपासका क्षेत्रहरुमा करिब डेढ फिटसम्म हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भूषालले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनीभन्दा माथि हिमपात र तल्लो क्षेत्रमा अहिले पानी परेको थियो ।

मौसममा आएको फेरबदलको कारणले वर्षा र हिमपात भैरहेको भए पनि धौलागिरि आधारशिविरबाट फर्किएका १५ जना पर्यटक र गाइडको टोली हिडन भ्यालीमा सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी भूषालले बताउनुभयो । यसैगरी बेनी–जोमसोम सडकमा सामान्य रुपमा यातायात साधनहरु आवतजावत भैरहेका छन् । मुस्ताङमा बादल लागेर वर्षा र हिमपात भैरहे पनि कागबेनी, जोमसोम, मार्फासहित तल्लो क्षेत्रमा मङ्गलवार बिहानैदेखि निरन्तर रुपमा वर्षा भएको थियो ।

यसवर्ष कात्तिक महिनामै हिमपात भएपछि मुस्ताङ जिल्लाको भ्रमणमा निस्किएका कतिपय पर्यटकहरु भने हिउँ खेलेर रमाइरहेका छन् । वर्षा र हिमपातको कारण पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकहरुको यात्रा भने प्रभावित बनेको छ । यसवर्ष हिउँदको सुरुमै पहिलो हिमपात भएपछि मुस्ताङका स्थानीय किसानहरु भने उत्साहित बनेका छन् । वर्षा र हिमपातले हिउँदे बालीसहित आलु, स्याउ र फलफूलको उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । हिउँ परेपछि यतिबेला मुस्ताङका डाँडाकाँडाहरु सेताम्य देखिएका छन् ।

यसैबीच वर्षा र हिमपातको कारणले गर्दा जोमसोम विमानस्थल भने पूर्ण रुपमा बन्द भएको छ । मौसममा गडबढी भएर वर्षा र हिमपात भएपछि मङ्गलवार बिहानैदेखि पोखरा–जोमसोम हवाई उडान बन्द भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । वर्षा र हिमपातपछि मुस्ताङको भ्रमणमा पुगेका पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।


