• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक ३०, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीमा आइतबार समुदाय–प्रहरी साझेदारीका लागि जिल्ला समिति पुनर्गठन भएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको जिल्ला समिति पुनर्गठन गरिएको हो ।

समाजमा शान्ति र स्थायित्वका लागि समुदायमा आधारित विभिन्न सचेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि गठित समितिको सह–संयोजकमा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा र सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयका समुदायिक सम्पर्क अधिकृतलाई तोकिएको छ ।

यसैगरी सदस्यहरूमा सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सरकारका निकाय तथा नागरिक संसघंस्था, विद्यालय, अभिभावक, महिला तथा बालबालिकाहरुको संस्था, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नागरिक समाज, म्याग्दी उद्योग वाणिज्य संघ तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरु रहने गरी ११ सदस्यीय समिति गठन भएको छ । समितिको सल्लाहकारमा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुखहरु रहेको सदस्य सचिव प्रहरी निरीक्षक गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

वि.सं. २०७५ सालमा गठन भएको समितिको पुनर्गठनसँगै स्थानीय तहका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय र वडा अध्यक्षको संयोजकत्वमा वडास्तरमा समेत समिति गठन गरेर समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । प्रहरीले समितिमार्फत स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था र विद्यालयहरुसँगको साझेदारीमा समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न थप सहज हुने उहाँको भनाइ छ ।

यस कार्यक्रममार्फत जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म समितिमार्फत विभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत अपराध न्यूनीकरणसहित समाजका हुने हरेक समस्याहरुको समाधान गर्नका लागि केन्द्रीत रहने प्रनाउ थापाले बताउनुभयो । म्याग्दीमा गएको आर्थिक वर्ष २०८१÷०८२ मा १९ सय ५२ वटा सचेतनामूलक कार्यक्रमहरुबाट कुल ३२ हजार २ सय २९ जना सर्वसाधारण तथा नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको समुदायस्तरमा सञ्चालित गतिविधिहरुले प्रहरी र समुदायको सम्बन्ध स्थापित गर्नुका साथै अपराधको रोकथाम तथा अनुसन्धानमा जनसहभागितालाई समेत बढाएको छ ।

प्रहरीले लागूऔषधको विरुद्धमा जनचेतनामूलक, साईबर अपराध, दुर्घटना न्यूनीकरण, आत्महत्या रोकथाम, जबरजस्ती करणी, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरणको संरक्षण, विपद् व्यवस्थापन, मानव बेचबिखन तथा बालविवाह न्यूनीकरण, सामाजिक बिकृति र विसङ्गतिको विरुद्धमा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको छ । विद्यालय तहमा समेत प्रहरीले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी विद्यार्थीको सहयोगमा समुदायमा सचेतना फैलाउँदै आएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तिवारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुले समुदायस्तरमा सचेतनामूलक विभिन्न कार्यक्रम तथा सामुदायिक प्रहरी सेवामार्फत समाजलाई सुरक्षित बनाउन सकिनेमा जोड दिएका थिए ।