• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मंसिर ३, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वरधाम शिवालयमा यसवर्ष करिब ३० हजार भक्तजनहरुले सतबिउ छर्नुका साथै पूजाअर्चना गरेका छन् । बुधवार बिहानैदेखि गलेश्वर पुगेका भक्तजनहरुले कालीगण्डकी नदीको किनारदेखि मन्दिर परिसरसम्म सतबिउ छर्ने र दर्शन तथा पूजाआजा गरेका हुन् ।

म्याग्दीसहित देशका विभिन्न ठाउँहरुबाट गलेश्वरको दर्शन गर्न पुगेका भक्तजनहरुले प्रवित्र कालीगण्डकी नदीको किनारमा पूजाअर्चना र दिप प्रज्ज्वलन गर्नुका साथै नदीमाथि तोरण समेत तारेका छन् । भक्तजनहरुबाट मङ्गलवार रातभर जाग्राम बसेर बिहान सबेरै कालीगण्डकीमा स्नान गरी पितृ उद्धार तथा शिवलोक प्राप्त गर्ने जनविश्वासका साथ सतबिउ छरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका ९ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा श्रद्धालु, भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको थियो । विगतका वर्षहरुमा जस्तै यस वर्षको बालाचतुर्दशी पर्वमा पनि गण्डकी प्रदेशसहित रुपन्देही, नवलपरासी, काठमाडौँ, झापा, मोरङ, कञ्चनपुरलगायत जिल्लाहरुबाट समेत भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

भक्तजनहरु आफ्ना दिवङ्गत पितृहरुको सम्झनामा दीप प्रज्ज्वलन गरी सतबिउ छरेर फर्किएका छन् । यसवर्ष करिब ३० हजार भक्तजनहरुले मन्दिरको दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । आफ्नो परिवारभित्र दिवङ्गत पितृहरुमा आत्माको चिरशान्तिको कामनासहित १०८ शिवलिङ्गका साथै प्रवेशद्वारबाटै सतबिउ छर्दै मन्दिरभित्र विभिन्न ठाउँमा पुजाआजा गर्ने गरिन्छ ।

मूल मन्दिरदेखि गेटसम्म लाइनमा बसेका भक्तजनलाई व्यवस्थित गर्न प्रहरी तथा स्वयंसेवकहरु परिचालन गरिएको थियो । बालाचतुर्दशी पर्वमा गलेश्वरको दर्शन र सतबिउ छर्ने भक्तजनहरुको सहज पुजाआजाका लागि विभिन्न २४ वटा उपसमितिहरु गठन गरी व्यवस्थापन मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य–सचिव सम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

भगवान् शिव मृगरूप लिएर घुमेको पुण्य क्षेत्रमा एक गेडा बिउ छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गर्ने गरिएकोमा त्यसमध्ये एक गलेश्वर समेत भएकाले पनि भक्तजनहरुको चाप बढ्दै गएको छ । सतबिउमा कोदोबाहेक धान, गहुँ, मकै, जौ, केरा, सुन्तला लगायतका अन्न, वनस्पति तथा फलफुलहरु छर्ने गरिन्छ । विभिन्न सयथरी बिउहरु मिसाएर छर्ने भएकाले सतबिउ नामाकरण गरिएको किम्बदन्ती रहेको छ । भगवान शिवजीका विभिन्न ८८ वटा अवतारहरुमध्ये बाल अवतारलाई सम्झिएर बालाचतुर्दशी पर्वमा सतबिउ छर्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको बताइन्छ ।

बालाचतुर्दशीमा सतबिउ छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पापहरु नाश हुने जनविश्वास रहिआएको छ । छरेको सतबिउबाट उम्रिएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहेकाले आफन्त नहुनेहरूले जीवनकालमै सतबिउ छर्ने गर्दछन् । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीमा बिहान सबेरैदेखि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दै पाशुपत क्षेत्रमा देवीदेवताको मन्दिर परिक्रमा गरिन्छ ।

द्वापरयुगमा सतीदेवीको गलापतन भएको मानिने म्याग्दीको गलेश्वरमा सतबिउ छर्नका लागि हजारौँ भक्तजनहरु आउने गर्दछन् । पवित्र कालीगण्डकी नदी किनारबाट ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक तीर्थस्थल मानिन्छ । पछिल्लो समय गलेश्वर मन्दिरमा कालीगण्डकी नदीको जलले ११ वटा गौमुखी धारामा नुहाउने व्यवस्था भएपछि भक्तजनहरुलाई धेरै सहज भएको छ ।