• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मंसिर २६, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– विद्यालय तहमा अध्ययनरत बालिकाहरुलाई लक्षित गरेर महिनावारी स्वच्छता र लैङ्गिक हिंसाको विरुद्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिकाको आयोजना र शिव माध्यमिक विद्यालय फर्सेको समन्वयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालिकाहरुलाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस डिसेम्बर ८ को अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित सचेतनामूलक अन्तर्क्रिया कार्यक्रममा सहभागी बालिकाहरुलाई महिनावारीको समयमा अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सुरक्षा, सरसफाइ, लैङ्गिक हिंसा, यसका प्रकारहरु, सामाजिक सञ्जालको प्रभाव, समाधानका उपायलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी थापाले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्यले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा र जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक शिक्षा, देवी रिजालले महिनावारी स्वच्छता र दिवसको विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यालयको ५ देखि १० सम्मका ५० जना छात्राहरुले सक्रिय सहभागिता जनाएका थिए । सोही अवसरमा सहभागीहरुलाई लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धतास्वरुप सेतो रिबन वितरण गरिएको थियो ।

कार्यक्रममा व्यानरमा हस्ताक्षर गरी प्रतिबद्धता जनाइएको थियो भने अन्तर्क्रिया र छलफल गर्नुका साथै सहभागी छात्राहरुले सोधेका जिज्ञासा तथा प्रश्नको समाधान गरिएको थियो । जलजला गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख विन्दु शर्माले सञ्चालन र सहायक प्रअ थापाले समापन गर्नुभएको कार्यक्रममा छात्राद्वय किर्ती आचार्य र सिम्रन थापाले अनुभव सुनाउनुभएको थियो ।