• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस १३, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– जिल्लामा शैक्षिक, पर्यटन र सामाजिक क्षेत्रमा क्रियाशील संस्था म्याग्दी जेसीजको शनिवार २७औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा शाखा अधिवेशनबाट वर्ष सन् २०२६ का लागि म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको म्याग्दी जेसीजले जनाएको छ । साधारण सभा तथा अधिवेशनबाट म्याग्दी जेसीजको निवर्तमान अध्यक्षमा विनोद घर्ती क्षत्री, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा डेकमाया केसी, कानुनी सल्लाहकारमा सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे र नवीन पौडेल निर्वाचित हुनुभएको निर्वाचन आयुक्त दिनेश बानियाँले जानकारी दिनुभयो ।

यसैगरी अधिवेशनबाट शाखाको महासचिवमा गोकुल सुनार, कोषाध्यक्षमा प्रतिश श्रेष्ठ, शाखा सम्पादकमा तेजिन्द्र बहादुर खत्री, सहसचिवमा कपिल बानियाँ, सहकोषाध्यक्षमा अभिनेश श्रेष्ठ, उपाध्यक्षहरुमा दिनेश खत्री, सुष्मा खत्री, अरुण रेग्मी र मन्जुर कटुवाल तथा प्रकरण निर्देशकमा सुनिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

म्याग्दी जेसीजले जिल्लाको विभिन्न स्थानहरुमा पुगेर सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । खासगरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले जिल्लामा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, विद्यालय तहमा फुटबल खेलको विकास, धार्मिक र ऐतिहासिक स्थलहरुको चिनारी तथा सरसफाइसँगै विभिन्न सामाजिक गतिविधिहरु समेत सञ्चालन गदै आएको छ ।

म्याग्दी जेसीजको वर्ष सन् २०२५ का शाखा अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा भएको शाखा अधिवेशनको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ नम्बर वडाका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका निवर्तमान राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीज र नेपाल जेसीजका पूर्व पदाधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो ।