पुस १३, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा शनिवार दरबाङ बजारमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनाको अवधिमा पालिकाबाट भए गरेका काम तथा सञ्चालित योजनाहरुको बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
गाउँपालिकाबाट भैरहेका सेवा प्रवाह, सम्पादित कार्यप्रगति एवं सञ्चालित विकास निर्माणका योजनाको बारेमा पालिकावासीबाट सल्लाह, सुझाव, गुनासो र अपेक्षा सङ्गलन तथा सम्बोधन गर्ने उद्देश्यसहित सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । सार्वजनिक सुनुवाइको क्रममा उठेका प्रश्न, सवाल तथा जिज्ञासाको क्रमशः सम्बोधन गर्दै जाने कार्यक्रममा बताइएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च हालसम्म एक प्रतिशतभन्दा पनि कम देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले प्रस्तुुत गरेको प्रतिवेदनमा उल्लेख गरिए अनुसार चालु वर्षको पुस ११ गतेसम्म शुन्य दशमलव ९२ प्रतिशत मात्रै बिकास बजेट खर्च भएको देखिन्छ । ११ करोड २९ लाख २५ हजार पाँचसय रुपैयाँ कुल पूँजीगत बजेटमध्ये १० लाख ४० हजार एकसय ४४ रुपैयाँ मात्रै खर्च भएको छ ।

चालु आवको हालसम्मको अवधिमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सर्वाजनिक सुनुवाइमा सहभागी ११ जनाले कार्यालयको सेवा प्रवाह तथा विकास निर्माणलगायत विषयमा प्रश्नहरु सोधेका थिए । दरबाङका व्यवसायी अमृत सापकोटा, रेशम खत्री, बुद्धि जुग्जाली, सपना गिरी, ओमबहादुर रोका, हिरा पुन, सुनिता थापा, जुना केसी, सुर्मन गर्बुजा, दिवाकर सुवेदी, भीमकुमारी खत्रीले सार्वजनिक सुनुवाइमा आ–आफ्नो गुनासो तथा प्रश्न गर्नुभयो । गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा जनसहभागिताको सन्दर्भमा म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइका उपाध्यक्ष समेत रहनुभएका व्यवसायी सापकोटाले सवाल उठाउनुभयो ।

यसैगरी जलविद्युत आयोजनाले निर्माण सामग्रीहरु बोक्ने १० चक्के ठूला गाडी हिँडाउने भए पनि सडक स्तरोन्नति र धुलो न्यूनीकरणको प्रयास नभएको बुद्धि जुग्जालीको भनाइ थियो । गाउँपालिकाले फोहोर व्यवस्थापन गर्दा अपनाएको विधिले प्रदूषण बढेकाले त्यसलाई परिवर्तन गर्नुपर्ने सपना गिरीले सुझाव दिनुभयो । प्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुनले सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिकै सहभागिता नभएको बताउँदै वडानम्बर ३, ४ र ५ का जनप्रतिनिधिहरु नआएर आफूप्रति उठ्ने सवालबाट भागेको आरोप लगाउनुभयो ।

सहभागीहरुले स्थानीयस्तरमा मगरहरुको बाहुल्यता भएकाले मगर भाषाको संरक्षण र संवद्र्धनमा पनि पालिकाले आवश्यक काम गर्नुपर्ने माग गरेका छन् । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहभागीहरुले उठाएका प्रश्न तथा सवालहरुको जवाफ दिँदै फोहोर व्यवस्थापनका लागि प्रयास भैरहेको, सडक विस्तारका लागि प्रक्रिया अगाडि बढ्ने समयमा स्थानीयले जग्गा नदिँदा समस्या भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उठेका सवालमाथि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुन र प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले पनि जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अमृत बास्कुने र सहसचिव सन्दीप शर्मा रिजालले सहजीकरण गर्नुभएको थियो ।



