• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस १८, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– हिमाली जिल्ला म्याग्दीमा एकसय १५ थान अवैध तथा इजाजत–पत्र (अनुमति) नभएका भरुवा बन्दुक बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले गएको मंसिर १५ गतेदेखि हालसम्म सञ्चालन गरेको ‘ब्राभो सेरा’ अभियानबाट सो परिमाणको अवैध भरुवा बन्दुक फेला पारिएको हो ।

अभियान अन्तर्गत सबैभन्दा धेरै रघुगंगा गाउँपालिकाबाट कुल ४८ थान अवैध भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी मालिका गाउँपालिकाबाट २० थान, अन्नपूर्णबाट १६, मंगलाबाट १४, बेनी नगरपालिकाबाट ११ र धवलागिरि गाउँपालिकाबाट ६ थान भरुवा बन्दुकहरु बरामद गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाई राखिएको अवस्थामा एकसय भन्दाबढी अवैध भरुवा बन्दुकहरु बरामद गरेको हो । ग्रामीण क्षेत्रमा वन्यजन्तु जनावरहरुको चोरी, शिकारीमा प्रयोग भैरहेका बन्दुक फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियान अन्तर्गत फेला पारिएको प्रनाउ थापाले बताउनुभयो ।

प्रहरीले जिल्लाभरका प्रहरी यूनिटलाई परिचालन गरेर ‘ब्राभो सेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन गर्न अप्रेशन नै चलाएको थियो । निर्वाचनको समयमा स्थानीयले लुकाइराखेको हातहतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोज तलासको कार्यलाई अगाडि बढाइएको प्रनाउ थापाको भनाइ छ । शुक्रवार प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले प्रहरीको खोजी अभियानमा स्थानीय समुदायले पनि साथ दिएको बताउँदै गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा जिल्लाभित्र भरुवा बन्दुकको प्रयोग गरिएको पाइएको बताउनुभयो । भरुवा बन्दुक बरामद गर्ने अभियानले ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), सामुदायिक र राष्ट्रि«य वनलगायत क्षेत्रमा अवैध रुपमा हुने चोरी, शिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गएको भदौ २३ र २४ गते भएको जेन–जी समूहको आन्दोलनका क्रममा देशभरबाट लुटिएका हातहतियारहरु पनि म्याग्दीमा आउन सक्ने भएकाले यसको समेत थप खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । जिल्लाको समुदायस्तरमा अवैध रुपमा बन्दुकहरु राखेको भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न पनि अनुरोध गरिएको छ । अवैध भरुवा बन्दुकसहित फेला पारेमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीको अभियानबाट बरामद गरिएका कुनै पनि बन्दुकहरुको लाईसेन्स नभएको अवस्थामा रहेका छन् । खोज तलासको क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरगोठ, खोल्साखोल्सी र जङ्गल क्षेत्रमा लुकाइराखेको अवस्थामा फेला पारिएको थियो ।