• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस १८, २०८२ शुक्रवार । रुप्से न्यूज

म्याग्दी– आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमाले म्याग्दीबाट विभिन्न पाँच जनाको नाम सिफारिस भएको छ । शुक्रवार एमालेको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न जिल्ला कमिटीको पूर्ण वैठकले प्रतिनिधि सभाका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

एमाले म्याग्दीको जिल्ला कमिटी वैठकले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका लागि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, पूर्व जिल्ला कमिटी सदस्य एवं यूवा नेता प्रकाश पौडेल, सचिवालय सदस्य पशुपति शाही र मजदुर नेता एवं जिल्ला कमिटी सदस्य बलादेवी राईको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले म्याग्दीका सचिव थमसरा पुनले जानकारी दिनुभयो ।

उम्मेदवार सिफारिस भएका नेता श्रेष्ठ वि.सं. २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बीर)सँग पराजित हुनुभएको थियो । उहाँ गएको मंसिर २७ गते सुरु भई पुस ३ गते सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठ एमाले म्याग्दीको दुई कार्यकाल पार्टी अध्यक्ष भएर जिल्लामा पार्टीको सङ्गठन बलियो बनाउनुका साथै सशक्त बनाउनुभएको थियो । साथै उहाँले २०७० सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचन तथा ०७४ सालको आम निर्वाचनमा जिल्लामा एमाले पार्टीलाई विजयी बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

अर्का उम्मेदवारको रुपमा सिफारिस हुनुभएका सुवेदी एमाले म्याग्दीको जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ भने उहाँ आसन्न राष्ट्रिय सभा निर्वाचनमा समेत म्याग्दीबाट एकल सिफारिस हुनुभएको छ । जिल्लामा राजनीतिसँगै सुवेदी सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । यसैगरी पौडेलले भने चर्चित विद्यार्थी तथा युवा नेताको रुपमा आफूलाई स्थापित गराउनुभएको छ । हालै एमालेको महाधिवेशनमा २१ मत अर्थात् झिनो मतान्तरले पराजित हुन पुग्नुभएका पौडेल अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा जम्मा ७ मतले मात्रै पराजित हुनुभयो । उहाँ युवा तथा विद्यार्थीमाझ देशैभर निकै लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

त्यस्तै उम्मेदवारकै रपमा सिफारिस हुनुभएकी एमाले म्याग्दीको सचिवालय सदस्य पशुपति शाही ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट बेनी नगरपालिकाको नगर उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको थियो । उम्मेदवार बनेको भए पनि पराजित हुनुभएकी उहाँ क्रियाशील महिला नेतृको रुपमा रहनुभएको छ । मजदुर नेता बलादेवी राई जिफन्ट म्याग्दीको पूर्व अध्यक्ष तथा हाल क्युपेक नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । मजदुर नेताको रुपमा आफूलाई स्थापित गराउन सफल नेतृ राई मजदुरहरुको हक अधिकार दिलाउन तथा पार्टी काममा समेत सक्रिय रहनुभएको छ ।