• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

फाइल तस्विर

पुस २०, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेला यसवर्ष पनि हुने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो ।

मेलाको मुख्य आयोजकको रुपमा महिला उद्यम विकास समिति रहेको छ । यसवर्ष ‘११औँ माघेसङ्क्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेला सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

शनिवार म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनहरुको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद, बिक्री वितरण र प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो ।

मेलामा खुल्ला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीको प्रतियोगिता, दुना टपरी र बाटेको धुप बनाउने, अन्धनिशान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय पेन्टिङ तथा छेलोलगायत प्रतियोगिताहरु सञ्चालन हुनेछन् । उद्यमशील सोचको विकास गर्न मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले माघेसङ्क्रान्ति मेलाले महिला उद्यमीहरुको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

मेलाको उद्घाटनका दिन बेनीबजारमा विभिन्न जातजातिहरूले मौलिक कला र संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विशेष साङ्गीतिक प्रस्तुती समेत रहनेछ । मेलामा कृषि ज्ञान केन्द्र म्याग्दीको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनहरु प्रदर्शनीमा राखिने भएको छ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति बनाएर तयारी थालिएको समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षद्वय उत्तमकुमार कर्माचार्य, जीवनबहादुर विश्वकर्मा, वर्तमान वरिष्ठ उपाध्यक्ष राजेश शाक्यको उपस्थिति रहेको थियो । हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र दुई–दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला आयोजना तथा सञ्चालन हुँदै आइरहेको छ ।