माघ १, २०८२ बिहीबार । प्रताप बानियाँ
म्याग्दी– ‘सम्पूर्ण मगरहरु एक होऔँ, भाषा, कला र संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नारासहित म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्व मनाउन सुरु गरेका छन् । मगर समुदायको महान् चाड माघेसङ्क्रान्ति पर्व–२०८२ को अवसर पारेर बिहीबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले सदरमुकाम बेनीमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

मगर संघ जिल्ला समन्वय समितिद्वारा बेनीबजारमा ¥यालीसहित बजारको परिक्रमा गरेर अहिले जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ । बजार परिक्रमाको क्रममा मगर समुदायहरु आ–आफ्नो भेषभूषामा सजिएर सालैजो, क्रौडा, पुख्र्यौलीलगायत नृत्यहरु प्रस्तुत गर्नुका साथै लोपोन्मुख गीतहरु समेत गाएका थिए ।

बेनीबजार परिक्रमासँगै मगर भेषभूषामा सजिएका मगर समुदायका युवायुवती तथा कलाकारहरुले गीत गाउँदै छमछमी नाचेका थिए । माघेसङ्क्रान्ति पर्वको एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भैरहेको छ ।



