म्याग्दी– ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दैै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित ११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी सकिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजनामा जिल्ला सदरमुकाम बेनीको खुलामञ्चमा सञ्चालित माघेसङ्क्रान्ति मेला–२०८२ शनिवार समापन गरिएको हो ।
यसपटक मेलाको अवसरमा खुल्ला सामूहिक लोकनृत्य प्रतियोगिता, म्याग्दी जिल्लामा रहेका पर्यटकीय स्थलहरुको विद्यालयस्तरीय खुल्ला पेन्टिङ प्रतियोगिता, म्याग्दीमा नयाँ व्यवसाय सञ्चालनको योजना प्रस्तुतीकरण, महिला र पुरुषको लठो तान्ने, छेलो फ्याँक्ने, खाना खाने, कृषि उपजहरुको प्रदर्शनी, महिला उद्यमी प्रतियोगिता, कला कार्यशाला, अन्धनिशान र स्थानीय उत्पादनहरुको स्टल प्रदर्शनीलगायत रहेका थिए । यसैगरी मेलामा स्थानीय उत्पादनहरु, होटल तथा रेष्टुरेण्ट र व्यापारिक गरेर ५० वटा खरिद–बिक्री सम्बन्धी स्टलहरु राखिएको थियो ।

गएको बुधवारदेखि शनिवारसम्म चलेको मेलामा हरेक दिन साँझमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा आ–आफ्नो साङ्गीतिक प्रस्तुती, विभिन्न संघसंस्था, विद्यालय र कलाकारबाट लोकसंस्कृति एवं मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतीकरण गरिएको थियो । मेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीमार्फत कलाकारहरुले लाइभ दोहोरी समेत गाएका थिए । त्यस्तै माघेसङ्क्रान्ति मेलाको अवसरमा खाना महोत्सव गर्नुका साथै कृषि मेला प्रदर्शनी सञ्चालन गरिएको थियो । कृषि प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट २० जना कृषकहरुलाई छनोट गरेर पुरस्कृत गरिएको थियो ।

चार दिनसम्म बेनीको खुलामञ्चमा लागेको यसपालिको माघेसङ्क्रान्ति मेलामा म्याग्दीसहित पर्वत, बागलुङ र पोखरालगायत स्थानबाट आएका करिब ५० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेला अवधिभरमा खुलामञ्चमा रहेका व्यापारिक स्टल तथा होटल र रेष्टुरेण्टमा गरेर तीन करोड ५० लाख रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ । मेलाको अवसरमा स्टलबाहेक बाहिर बजारका होटल तथा रेष्टुरेण्ट र पसलहरुमा पनि कारोबार भएको थियो । निजी क्षेत्रको अगुवाइमा जिल्लाको पर्यटन प्रवद्र्धन, आर्थिक क्षेत्र चलायमान बनाउने र कला, संस्कृति, भेषभूषाको प्रदर्शनी एवं प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित मेला जिल्लास्थित सबै सरोकारवालाहरुको सहयोगले सफल भएको मूल संयोजक तथा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।

खुलामञ्चमा आयोजित मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामीण वस्तीहरु र पर्यटकीयस्थलमा सहज यातायात सुविधाको व्यवस्थापनका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभयो । उहाँले पूर्वाधारबाट लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दै भन्नुभयो, “म्याग्दीका सबै वस्तीलाई सडक सञ्जालले जोड्ने र सदरमुकामदेखि ग्रामीण तथा पर्यटकीय स्थलहरुलाई जोड्ने सडकलाई स्तरोन्नति गरेर यातायात सेवालाई थप सहज र सुरक्षित बनाउन राज्यको तर्फबाट काम भैरहेको छ ।”

विकासको प्रमुख आधार सडक यातायातबाट निजी क्षेत्र र प्रवासीहरुले आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरेर लाभ लिन अग्रसर बन्नुपर्ने उहाँको भनाइ छ । बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकलाई पक्की बनाउने योजना निर्माण सुरु भएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री समेत रहनुभएका जुग्जालीले ढोरपाटनसँग जोडिएको सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रुपमा विकास गराउन पहल थालिएको बताउनुभयो ।
यसपटक म्याग्दीको बेनीमा ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । जिल्लामा म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिले दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला लगाउँदै आएका छन् । मेला, महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनीलाई पनि निरन्तरता दिने गरिएको छ ।


