• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि म्याग्दीमा दुईजना स्वतन्त्रसहित कुल १३ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीका अनुसार मङ्गलवार साँझ ५ बजेसम्मको समय सीमाभित्र स्वतन्त्र र विभिन्न दलबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरूमा नेपाली कांग्रेस म्याग्दीबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यूवराज रोका, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक र मंगोल नेशनल अर्गनाईजेसनबाट भीमबहादुर राना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेशनल रिपब्लिक नेपाल पार्टीबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रतर्फ निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन र नवीन जिसीले उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गर्नका लागि सबैभन्दा पहिला स्वतन्त्रबाट निवर्तमान शिक्षा मन्त्री पुनले उम्मेदवारी दिनुभएको थियो । म्याग्दीमा यसपटक राजनीतिक दलसँगै स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिनुभएका महाविर पुनको उम्मेदवारी दर्ताले माहोल निकै रोचक बन्ने देखिएको छ । उम्मेदवारी दर्ताका लागि पुगेका उम्मेदवारहरुले आ–आफ्नो चुनावी एजेण्डासहित विजय निश्चित भएको बताएका छन् । मुख्य दलहरुबीच हुने गरेको चुनावी प्रतिस्पर्धामा यसपटक नयाँ दलसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले समेत माहोल तातिँदै गएको देखिन्छ ।

यसपटकको निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ जना मतदाताहरु रहेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेको छ । म्याग्दीमा अन्यतर्फ एकजना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ जना मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको तथ्याङ्क छ । निर्वाचनका लागि जिल्लामा कुल ८२ वटा मतदानस्थल र १ सय १५ वटा मतदान केन्द्रहरु कायम गरिएको छ ।

जिल्लाको विकासका लागि उम्मेदवारी : पुन

यसैबीच स्वतन्त्र उम्मेदवारी दिनुभएका निवर्तमान शिक्षा मन्त्री महाविर पुनले जिल्लाको विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि अहिले नयाँ भनेका दलहरु पनि एकापसमा खुट्टा तानातान गरेको र जसलाई पनि प्रधानमन्त्री नै पद चाहिएकाले आफू मन्त्री पदबाट राजिनामा दिएर चुनाव लड्न आएको बताउनुभयो ।

गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनपछि बाध्यताले मन्त्री बनेको बताउने महाविर पुन प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको कल्पना समेत नगरेका म्याग्देली जनताले एक्कासी उम्मेदवारको रुपमा मैदानमा देखेपछि जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, सरोकारवाला निकाय र आम म्याग्दीवासीहरु आश्चर्यचकित बनेका छन् ।