• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा गौतमले सरकारी अस्पतालहरुमा आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन तथा स्वास्थ्य बिमाको रकम भुक्तानीलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । मङ्गलवार बेनी अस्पताल म्याग्दीको अनुमगन गर्दै मन्त्री गौतमले वर्तमान सरकारले सरकारी अस्पतालहरुमा उपकरणको जडान, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र बिमाको रकम भुक्तानीलाई जोड दिइएको बताउनुभयो ।

बेनी अस्पतालको निरीक्षण तथा सुपरीवेक्षणपछि आयोजित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापन समितिसँग भएको छलफलमा स्वास्थ्यमन्त्री गौतमले बिमाको भुक्तानी, जनशक्ति व्यवस्थापन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो । उहाँले प्रतिकूल अवस्थामा पनि नागरिकहरुलाई प्रभावकारी र व्यवस्थित तरिकाले निरन्तर रुपमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापन समितिलाई धन्यवाद दिनुभएको थियो ।

स्वास्थ्यमन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनको लागि वर्तमान सरकारले निरन्तर रुपमा पहल गरिरहेको बताउँदै सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधी, उपकरण तथा दक्ष जनशक्तिको व्यवस्थापन गरिने बताउनुभयो । नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाहरु उपलब्ध गराउन विभिन्न नीति र योजनाहरु बनाउनुपर्ने आवश्यकता उल्लेख गर्दै उहाँले स्वास्थ्य बिमा वापतको रकम अस्पतालहरुलाई क्रमशः भुक्तानी हुने बताउनुभयो ।

स्वास्थ्य बिमाको रकम भुक्तानी गर्न आफूले सरकारी अस्पतालहरुलाई पहिलो प्राथमिकता दिन स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएको बताउँदै मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी र व्यवस्थित बनाइने जानकारी दिनुभयो । उहाँले बेनी अस्पताल म्याग्दीमा स्वास्थ्यका उपकरणहरु थप गर्न तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापनको तत्कालै पहल गर्ने बताउनुभयो । पछिल्लो समय मानसिक स्वास्थ्यको समस्या बढ्दै गैरहेको हुँदा समुदायस्तरमा जनचेतना जगाउनुपर्ने आवश्यकता मन्त्री गौतमले औंल्याउनुभयो ।

सोही अवसरमा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले मन्त्री गौतमलाई अस्पताल सुधार गर्नको लागि ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्र बुझाउँदै उहाँले बेनी अस्पतालको निर्माणाधीन भवनको काम छिटो सक्न मन्त्री गौतमको ध्यानाकर्षण गराउनुभयो । निर्माण सुरु गरेको १० वर्ष बित्दा समेत अहिले पनि बेनी अस्पतालको भवनले पूर्णता पाउन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष बानियाँले दिएको जानकारी अनुसार बेनी अस्पतालले स्वास्थ्य बीमा वापतको करिब चार करोड रुपैयाँ रकम पाउन बाँकी रहेको छ ।

अध्यक्ष बानियाँको अधयक्षता र प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाईजर एवं सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भूवन ठकुराठी र बेनी अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रामु सापकोटाले आ–आफ्नो कार्यालयको प्रस्तुतीकरण गर्नुभएको थियो । मन्त्री गौतमसहितको टोलीले यसअघि प्रदेश अस्पताल कुस्मा पर्वत र धौलागिरि प्रादेशिक अस्पताल बागलुङको समेत स्थलगत अनुगमन एवं निरीक्षण गरेको थियो ।