• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाली कम्युनिष्ट पार्टी म्याग्दीबाट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार अर्जुन थापाले कानुनमा म्याग्देलीका समस्या सम्बोधन गर्ने, योजना र बजेटमा म्याग्दी देखिने गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीले २२औँ स्थापना दिवसको अवसरमा बिहीबार बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा थापाले आफ्ना अनुभवदेखि भावी योजनाहरु सुनाउनुभएको हो ।

उम्मेदवार थापाले आफ्नो चुनावी योजनाहरु सुनाउँदै भन्नुभयो, ‘संघीय कानुन, बजेट र योजना निर्माणमा म्याग्देली जनताको भावना, अपेक्षा र समस्याको सम्बोधन गराउन देशले म्याग्दीलाई सुन्ने र चिन्ने गरेर आवाज उठाउँछु ।’ उहाँले थप्नुभयो, ‘म्याग्दीले प्राप्त गरेको हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि समेत प्राथमिकता दिन्छु ।’

म्याग्दी, कालीगण्डकी र राहुघाट करिडोरको सडकलगायत भौतिक पूर्वाधारको क्षेत्रमा सन्तुलित विकास गर्ने, सार्वजनिक निकायको सेवा प्रवाहमा हुने ढिलासुस्ती र बेथितिको अन्त्य गरी सरकारी कार्यालयलाई ‘होटलको जस्तो स्वागत र बैंकको जस्तो छिटोछरितो, पारदर्शी र प्रविधिमैत्री’ बनाउने बताउनुभयो । उज्यालो म्याग्दी कार्यक्रमलाई पूर्णता दिने, निर्माणाधीन जलविद्युत र प्रसारण लाइन आयोजनालाई सहज रुपमा सम्पन्न गराउन, जलविद्युत आयोजनाका प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्वको बजेटलाई पारदर्शी र व्यवस्थित किसिमले कार्यान्वयन गराउन, प्रभावित क्षेत्रका बासिन्दाको शेयर लगानीको अधिकारलाई सुनिश्चित बनाई आर्थिकस्तर उकास्न जोड दिने थापाले बताउनुभयो ।   धौलागिरि र अन्नपूर्ण लगायतका हिमालका आधारशिविर, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण, प्राकृतिक तातोपानी कुण्डहरुसहित धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रर्वद्धन गर्दै पर्यटनको माध्यमबाट आयआर्जन, रोजगारी सिर्जना र आर्थिक विकास गराउने थापाले योजना सुनाउनुभयो ।

४२ वर्षीय थापा धवलागिरि गाउँपालिका–७, धारापानीका हुनुहुन्छ । सिवाङमा रहेको हेम (नमुना आवासीय) माविमा वि.सं. २०५४ सालमा अनेरास्ववियु क्रान्तिकारीको प्रारम्भिक समितिको अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गर्नुभएका नेकपाका उम्मेद्वार थापा नेकपाको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य हुनुहुन्छ । आर.आर. क्याम्पस र भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गरेर थापाले राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ । प्रतिस्पर्धी उम्मेद्वारहरुको तुलनामा थापा कम उमेरको हुनुहुन्छ ।

थापाको नेतृत्वमा काठमाडौँमा स्वतन्त्र रक्तदाता समूहले बिरामीहरुलाई निःशुल्क रगतको व्यवस्था मिलाउँदै आएको छ । ५२ पटक रक्तदान गर्नुभएका थापाले आफ्नो समूहले १० हजार जनाभन्दा बढी बिरामीलाई उपचारका लागि निःशुल्क रुपमा रगतको व्यवस्था मिलाएको बताउनुभयो । भ्रष्ट्राचार र बेथितिका विरुद्ध काठमाडौँमा विभिन्न अभियानको अगुवाई गर्नुभएका थापाले वैदेशिक रोजगारीको क्रममा ठगिएका पीडितहरुको पक्षमा पैरवी गर्दै आउनुभएको छ । बुवा र आमाको नामबाट थापाले चन्द्रलोक शैक्षिक कोष स्थापना गरेर धवलागिरिका ११ वटा माविहरुमा पछिल्लो तीन वर्षयता विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।