प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरुसँग म्याग्दीमा शुक्रवार प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजद्वारा सदरमुकाम बेनीबजारको वीरेन्द्रचोकमा आयोजित उक्त कार्यक्रममा जिल्लाका आठवटा राजनीतिक दलको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वारहरुले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका डा. महाविर पुन र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीबाट उम्मेद्वारी दिनुभएका अर्जुन थापाको भने उपस्थिति भएन । निर्वाचन अघि विभिन्न पार्टीका उम्मेद्वारहरुलाई एकै ठाउँमा सँगै राखेर उम्मेद्वार र मतदाताबीच गरिएको प्रत्यक्ष संवाद कार्यक्रम म्याग्दीमा पहिलोपटक आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेद्वार कर्णबहादुर भण्डारी (केबि), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोका, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्भरबहादुर सुवेदी, नेपाल कम्युष्टि पार्टी माओवादीका क्षेत्रबहादुर घिमिरे, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का देवेन्द्र कामी र श्रम संस्कृति पार्टीका विनोद लामाले आ–आफ्ना प्रतिबद्धताहरुसहित जनताले सोधेका प्रश्नहरुको जवाफ दिनुभयो ।
कांग्रेस उम्मेद्वार भण्डारीले आफू कानुनको विद्यार्थी भएकाले संसदमा कानुन बनाउने कुरामा योगदान दिन सक्ने, नीति निर्माणमा आवश्यक भूमिका निर्वाह खेल्ने बताउँदै जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, जलविद्युत, प्राकृतिक स्रोतको उपयोग आदिलाई लाइफलाइन बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी एमाले उम्मेदवार श्रेष्ठले संसदबाट सुशासन, पारदर्शिता र जनतालाई शीघ्र सेवा प्रवाहका लागि कानुन निर्माण गरी कार्यान्वयन गराउने, भ्रष्टाचार र बेतिथिको अन्त्य गर्दै समातामूलक समाज निर्माण गर्ने, जनताका लागि विकासका कामहरु गर्ने, कृषि, यातायात, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत अति आवश्यक पूर्वाधार विकासका कामहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने योजनाहरु रहेको सुनाउनुभयो ।
राष्ट्रिय जनमोर्चाका उम्मेद्वार छेमबहादुर विक (छवि)ले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलपछि नेपालमा नयाँ परिस्थिति उत्पन्न भएको बताउँदै आन्दोलनको मर्म विपरित काम भैरहेकाले असहज अवस्था उत्पन्न भएको बताउनुभयो । राप्रपाका सुवेदीले एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने नीति बनाउने, हिन्दु राज्यका लागि पहल गर्ने, जयन्तीकाली र मंगला नदीको सङ्गमस्थलमा तीनमुखे पुल निर्माण गरी यस क्षेत्रलाई मेडिटेसन हवको रुपमा विकास गर्ने लगायतका प्रतिबद्धताहरु सुनाउनुभयो ।
रास्वपाका रोकाले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएकोले यसको अन्त्यका लागि आफू र आफ्नो पाटी लाग्ने, आर्थिक सुधारका कामहरु गरेर देश र जिल्लालाई स्वाबलम्बी बनाउने, प्राकृतिक स्रोत एवं साधनहरुको अधिकतम उपयोग गरी लाभ लिन सक्ने नीति बनाउने योजना रहेको सुनाउनुभयो । नेकपा माओवादीका घिमिरेले गणतन्त्र प्राप्तिका लागि म्याग्दीबाट पनि ७१ जनाले सहादत प्राप्त गरेको स्मरण गर्दै आफूले जिल्लाको गुरुयोजना निर्माण गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने, कृषिलाई ग्रामीण अर्थतन्त्रको बलियो माध्यम बनाउने जस्ता योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार कामीले आफूले परिआएको खण्डमा जनताका जुनसुकै काम पनि गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने श्रम संस्कृति पार्टीका लामाले जनतालाई श्रमसँग जोडेर जिल्लालाई समृद्ध बनाउने वाचा सुनाउनुभएको थियो ।


