आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रवार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उम्मेद्वार थापासहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधि, नेकपाका नेता र पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आबद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा म्याग्दी जिल्लामा हालको अवस्था, समस्या, आवश्यकता, जिल्लामा सञ्चालित विकास आयोजना र आगामी योजना तथा कार्यक्रमहरुको विषयमा छलफल भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै सुशासन, सामाजिक न्यायसहितको आर्थिक समृद्धी हासिल गर्नका लागि नेकपाको जित आवश्यक रहेको बताउनुभयो ।
विगतदेखि हालसम्म म्याग्दीमा नेकपाको पहल र अगुवाइमा सुरु भएका विकास योजनादेखि सामाजिक क्षेत्रमा भएका कामलाई पूर्णता दिनका लागि युवा नेतृत्वलाई उम्मेद्वार बनाएको इन्चार्ज पौडेलले बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले भावना, आग्रह र पूर्वाग्रह भन्दा पनि सक्षम तथा योग्य नेतृत्व चयन भएमा मात्र म्याग्दीवासीको अपेक्षा पुरा हुने बताउनुभयो । म्याग्दीको विकासका लागि टिम बनाउन म्याग्दीलाई चिनेको र सिंहदरबार बुझेका थापालाई उम्मेद्वार बनाएको उहाँको भनाइ छ ।
अर्का प्रदेश सभा सदस्य हरि भण्डारीले म्याग्दीवासीले नेकपाका जनप्रतिनिधिले गरेका काम हेरेर मतदान गर्ने अपेक्षा गर्नुभयो । विगतमा गरेका प्रतिबद्धता अनुसार केही काम भएका, केही सुरु भएको बताउदै उहाँले बाँकी काम गर्न आफूहरुलाई साथ चाहिएको बताउनुभयो । थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा हासिल गरेको अनुभवलाई म्याग्दीको विकास तथा समृद्धी र सुशासनको पक्षमा लगाउन आफू उम्मेद्वार बनेको बताउनुभयो । ‘सुशासन कायम गराउनका लागि भ्रष्ट्राचारको अन्त्यका साथै नीति निर्माण र योजना तथा बजेटमार्फत म्याग्देलीको भावना र आवश्यकतालाई सम्बोधन गराउने मेरो मुख्य मुद्दा हो,’ उहाँले भन्नुभयो ‘पूर्वाधार विकासको जगमा टेकेर म्याग्दीलाई पर्यटन, कृषि र जलविद्युतमार्फत समृद्ध बनाउने मेरो योजना छ ।’
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र वडा नं. १ गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले म्याग्दीको सन्तुलित विकासको अवधारणा अघि सारेर दुर्गम क्षेत्रको विकासमा प्राथमिकता दिने नेकपाका प्रतिनिधिले जितेमा काम गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा ताकम–धारापानी समाज पोखराका अध्यक्ष झलक थापा, नेकपाका बेनी नगरपालिका कमिटी अध्यक्ष नगेन्द्र केसी, सुकबहादुर रसाईली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । लोकनाथ भट्टराईको अध्यक्षता, बेलबहादुर परियारको सञ्चालन र ओम पुनको स्वागतमा सम्पन्न कार्यक्रममा डेकबहादुर विकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


