• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठसहितको टोलीले शनिवार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । म्याग्दीबाट पोखरा पुगेर विभिन्न पेशा तथा व्यवसायलगायत विविध क्षेत्रमा आबद्ध रहेका म्याग्देलीहरुलाई भेटघाट गरी भोट मागिएको हो ।

नेकपा एमाले म्याग्दी–पोखरा सम्पर्क कमिटीको आयोजनामा भएको उक्त भेलाले पोखरामा रहेका मतदाताहरुलाई लक्षित गरी चुनावका लागि प्रचारप्रसारलाई थप व्यवस्थित र आक्रामक बनाउने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै म्याग्दीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले म्याग्दीको अधुरा विकासका योजनाहरू पूरा गर्न र जिल्लाको आर्थिक समृद्धिका लागि सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।

आफू र एमाले पार्टीलाई  भोट माग्दै उम्मेद्वार श्रेष्ठले भन्नुभयो, ‘हामी केबल आश्वासन मात्र होइन, काम गरेर देखाउने सङ्कल्पका साथ चुनावमा होमिएका छौँ । त्यसैले पनि म्याग्देली जनताको सुख–दुःखमा हामी सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसैगरी समानुपातिकतर्फका एमाले उम्मेद्वार नरदेवी पुनले पार्टीको नीति र योजना नै देश विकासको मेरुदण्ड भएको बताउँदै एमालेको पक्षमा मतदान गर्न अनुरोध गर्नुभयो । उहाँले महिला, बालबालिका र पिछडिएका वर्गको उत्थानका लागि एमालेको जित अनिवार्य रहेको उल्लेख गर्दै सम्पूर्ण म्याग्देलीहरूलाई एकताबद्ध हुन आह्वान समेत गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थममाया थापाले वर्तमान राजनीतिक परिस्थितिमा एमालेको सुदृढ उपस्थिति आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लाको चुनावी तयारीबारे प्रकाश पार्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा खट्न निर्देशन दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा एमालेले जिल्लाभित्र घरदैलो अभियान सञ्चालन गर्नुका तथा जिल्ला बाहिर रहेका मतदातासँग समेत भेटघाटसहितका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । एमाले म्याग्दी–पोखरा सम्पर्क कमिटीका अध्यक्ष रेशम छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।