नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा जिल्लाभर निर्वाचनलक्षित प्रचार अभियान सञ्चालन भैरहेको छ । एमाले म्याग्दीद्वारा आयोजित निर्वाचन प्रचार अभियान अन्तर्गत गाउँगाउँ र टोलटोलमा पुगेर मतदाताहरुसँग भेटघाट गरी एमालेको पक्षमा भोट माग्ने कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाएको एमालेले जनाएको छ ।
यसैक्रममा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीका उम्मेद्वार हरिकृष्ण श्रेष्ठसहितको एमाले उम्मेद्वारहरुको एक टोलीले सोमबार मंगला गाउँपालिकाको विभिन्न वस्तीमा पुगेर मतदाताहरुसँग भेटघाट गरेका छन् । मंगला गाउँपालिका–४, बरंजाको धापुङ, सोलधारा, वडा नं २ को ज्यामिरे र लाम्पाटामा रहेका मतदातासँग आफ्नो चुनावी प्रतिबद्धतासहित जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका कामहरुबाट समेत मतदाताले आफ्नो पक्षमा मतदान गर्ने विश्वास व्यक्त लिएका छन् ।
म्याग्दीमा विकासको जग एमालेले बसालेको बताउँदै उम्मेद्वार श्रेष्ठले भन्नुभयो, ‘म्याग्दीलाई हिमाली जिल्ला घोषणा पनि हाम्रो प्रयासमा भएको थियो । अहिले घोषणासँगै कार्यान्वयनको चरणमा रहेको छ । त्यसका लागि हामीले हिमाली जिल्लाको सरह पाउने सबै सेवासुविधाहरु म्याग्दीमा ल्याउन पनि निरन्तर रुपमा दवाव दिइरहेका छौँ । पश्चिम म्याग्दीमा विकास निर्माणको सुरुवातकर्ता पनि एमाले नै हो’ उहाँले भन्नुभयो ।

चुनावका लागि टोल भेलासहित निर्वाचनलक्षित विभिन्न कार्यक्रम गरेर प्रचारप्रसारलाई थप व्यवस्थित र आक्रामक बनाउने निर्णय गरेको नेकपा एमालेले जनाएको छ । जिल्लामा एमालेको पहलमा डिपिआरसहित तयार गरेका भौतिक संरचनाहरुले अहिले गति लिएको बताउँदै उम्मेदवार श्रेष्ठले केबल आश्वासन होइन, काम गरेर देखाउने सङ्कल्पका साथ मैदानमा आएको बताउनुभयो । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीले बेनी नगरपालिका, रघुगंगा गाउँपालिकासहित पश्चिम म्याग्दीमा चुनावी अभियान अगाडि बढाएको छ ।
चुनावी अभियानमा समानुपातिकतर्फका उम्मेद्वार नरदेवी पुनले म्याग्दीमा आफ्नो कार्यकालमा धेरै योजनाहरु भित्रिएको बताउनुभयो । बेनी–दरबाङ सडकखण्ड अपुरो हुँदा आफ्नो कार्यकालमा कालोपत्रेसहित सडक स्तरोन्नतिका योजनाहरु अगाडि बढाएको उहाँको भनाइ छ । आफ्नो कार्यकालमा गरेका विकास निर्माणका कामहरु जनताको नजिकमा रहेकाले पार्टीको नीति र योजना नै देश विकासको मेरुदण्ड भएको बताउँदै उहाँले फेरि पनि जिल्लाको विकास गर्न तथा गाउँगाउँमा विकासको लहर ल्याउनको लागि एमाले पार्टी र एमालेका उम्मेद्वारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो ।


