• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा पत्रकार तथा सरोकारवालासँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुने एचपिभी खोप सेवाको विषयमा पत्रकारसँग अन्तत्र्रिmया गरिएको हो ।

यसवर्ष म्याग्दीमा कक्षा ६ मा अध्ययनरत ९ सयजना भन्दाबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । मङ्गलवारदेखि म्याग्दी जिल्लामा किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर रोगको विरुद्धमा एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरमा हुने मुखको क्यान्सर रोकथामका लागि म्याग्दीमा ९ सयभन्दा बढी किशोरीहरुलाई एचपिभी खोप लगाउने तयारी गरिएको हो ।

मङ्गलवारदेखि आउँदो फागुन ४ गतेसम्म जिल्लाको ६ वटै स्थानीय तहमा सञ्चालन हुने खोप अभियानमा लक्षित उमेर समूहका ९ सय २३ जना किशोरीहरुलाई खोप लगाउने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले जानकारी दिनुभयो । पत्रकार तथा सञ्चारकर्मीहरुसँग आयोजित एचपिभी खोप अभियान कार्यक्रमको बारेमा कार्यालय प्रमुख ठकुराठीले सहजीकरण गर्नुभएको थियो ।

म्याग्दीमा कक्षा ६ मा अध्ययनरत ९ सय १३ जना छात्रा, विद्यालय नजाने १० वर्ष उमेर समूहका ६ जना बालिकाहरु र गतवर्ष खोप लगाउन छुटेका ४ जना किशोरीलाई यसवर्ष खोप लगाइने कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो । गतवर्ष कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियानको रुपमा सञ्चालन गरिएको एचपिभी खोपलाई यसवर्ष नेपाल सरकारले नियमित कार्यक्रममा समावेश गरेको हो । जिल्लामा खोप अभियानका लागि स्वास्थ्यकर्मीको परिचालन, खोप केन्द्र निर्धारण, सरोकारवाला निकायसँगको समन्वय वैठकलगायत आवश्यक सबै तयारीहरु पूरा गरिएको छ ।

जिल्लाको बेनी नगरपालिकामा ३ सय ३४ जना, मंगला गाउँपालिकामा १ सय १२, मालिकामा १ सय ७८, धवलागिरिमा १ सय ४१, रघुगंगामा ९१ र अन्नपूर्णमा ६७ जना छात्रा तथा बालिकाहरुलाई एचपिभी खोप दिने लक्ष्य रहेको छ । खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी १०३ वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर तथा सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । खोप अभियानमा १०७ स्वास्थ्यकर्मी र १०७ जना स्वयंसेवकहरु परिचालन हुने भएका छन् ।