• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरुले औपचारिक रूपमा चुनावको प्रचारप्रसार गर्न पाउने भएका छन् । मतदान हुने दिनभन्दा १५ दिन अघि अगाडिबाट मात्रै निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत जुलुस, आमसभा, भेला, कोणसभा गर्न र सञ्चारमाध्यमहरुमा आ–आफ्नो चुनाव सम्बन्धी सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्न सकिने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार आजदेखि आउँदो १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न सक्नेछन् । दल र उम्मेदवारले तोकिएको मापदण्डको आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यमहरुमा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरिएको छ । चुनाव प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधिहरु सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लङ्घन नगर्न आयोगले सचेत गराएको हो । आयोगले चुनावको प्रचारप्रसारमा हिंसा, धम्की, लोभलालच र सामाजिक बहिष्कार जस्ता गतिविधिहरुमा कडाइका साथ रोक लगाएको जनाएको छ ।

आयोगले खर्चको सीमा पालना गर्न, मतपत्रको दुरुपयोग नगर्न र आचारसंहिताको पालना गर्न सबै दलहरूलाई अनुरोध गरेको छ । निर्देशन उल्लङ्घन गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृत वा आयोगमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता पालना गर्नु दलहरूको कानुनी र नैतिक दायित्व रहेको भन्दै यो दायित्व पूरा गरी कारवाहीको झमेलामा नपर्न आग्रह गर्नुभयो ।

कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरुबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले सचेत गराएको छ ।

यसैबीच हिमाली जिल्ला म्याग्दीमा नेकपा एमाले जिल्ला कमिटीले बेनी नगरपालिका ४ डाँडाखेतबाट निर्वाचन प्रचारप्रसारको औपचारिक कार्यक्रम सुरु गरेको जनाएको छ । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले निर्वाचन आचारसंहितालाई ख्याल गर्दै निर्वाचनको खुला कार्यक्रम सुरु गरिएको बताउनुभयो । यसैगरी नेपाली कांग्रेस म्याग्दीले बेनपा ९ घतान तोरीपानीबाट चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनपा १० पात्लेखेतबाट औपचारिक कार्यक्रम सुरु गरेको छ ।