• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
जेठ २९, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समिति बेनी नगरपालिका–५, गाजने म्याग्दीको आयोजनामा बृहत कुलपुजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक समारोहको आयोजना गरी बेनी नगरपालिका ५ गाजनेमा मौद्गल्य गोत्रीय मुडुला कार्की क्षत्री बन्धु समाजको बृहत कुलपूजा गरिएको हो ।
बृहत कुलपूजा तथा सम्मान कार्यक्रमको अवसर पारेर मौद्गल्य गोत्रीय मुडुला कार्की क्षत्री बन्धु समाजको कुल मन्दिर, सभाहल र भवन निर्माणमा आर्थिक सहयोग गर्ने १ सय ६५ जना चन्दादाताहरुलाई सम्मान गरिएको मुडुला कार्की क्षत्री बन्धु समाजले जनाएको छ । कुलपूजा तथा सम्मान कार्यक्रममा समाजका अध्यक्ष गुमानसिं कार्की र कोषाध्यक्ष गणेशबहादुर कार्कीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
अध्यक्ष र कोषाध्यक्षद्वय कार्कीलाई कुल मन्दिरलगायत आवश्यक संरचना निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको मुडुला कार्की क्षत्री बन्धु समाज सेवा समितिका महासचिव यज्ञबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी अन्य चन्दादाताहरुलाई पनि अबिरको टिका लगाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्की बन्धु समाजमा नगद र जिन्सी गरेर कुल तीनलाख ३२ हजार सातसय ७७ रुपैयाँ बराबरको रेशमबहादुर कार्कीले सहयोग गरी सर्वोत्कृष्ट चन्दादाता बनेको समितिले जनाएको छ ।
कार्यक्रममा सिरहा जिल्ला अदालतका न्यायाधीश टेकबहादुर कार्कीको प्रमुख आतिथ्य, बानियाँ बन्धु समाज म्याग्दीका पूर्व अध्यक्ष एवं जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँ (रामु) र सर्वोत्कृष्ट चन्दादाता रेशमबहादुर कार्की लगायतको विशेष उपस्थिति रहेको थियो । कुल मन्दिरमा आफ्ना पितृ उद्वारको विशेष पूजा आराधना गर्नुका साथै बोकाको बलि समेत दिइएको थियो ।
कुलपूजामा म्याग्दीसहित पर्वत, बागलुङ, पोखरा, तनहुँ, काठमाडौं, चितवन, नवलपरासी, रुपन्देहीलगायत जिल्लाबाट कार्की बन्धुहरु सयौंको संख्यामा आएका थिए । सम्मान कार्यक्रम समितिका अध्यक्ष गुमानसिं कार्कीको अध्यक्षता र महासचिव यज्ञबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।