विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) म्याग्दीमा बालगृहमा रहेका बालबालिकाहरुसँग मनाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीद्वारा दिवसको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकालाई लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दी शाखाले आइतबार म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको जनाएको छ । उक्त कार्यक्रममा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा रहेका ८ जना बालबालिकाहरुको लागि स्वास्थ्य चेकजाँच गरी आवश्यक परामर्श सेवा प्रदान तथा औषधीहरु वितरण गरिएको थियो ।

बालगृहमा आयोजित कार्यक्रममा बालबालिकाहरुको दाँत, आँखा, कानलगायत अङ्गहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै बालबालिकालाई आवश्यक औषधी तथा केही खाद्यान्न सामग्री समेत प्रदान गरिएको महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण शर्मा गौतमले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष पौडेलले अहिलेको अवस्थामा पत्रकारहरू विभिन्न प्रकारका दवाव, धाकधम्की र असुरक्षाको सामना गर्न बाध्य हुनुपरेको बताउँदै यस्तो अवस्थामा राज्यले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नु पहिलो दायित्व भएकोमा जोड दिनुभएको थियो । पत्रकारहरूलाई मर्यादित र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता नदिइएसम्म प्रेस स्वतन्त्रता पूर्ण रूपमा कार्यान्वयन भएको मान्न नसकिने उहाँको भनाइ थियो । उपाध्यक्ष पौडेलले सञ्चारकर्मीहरु केबल समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजप्रतिको जिम्मेवारीसँग पनि जोडिएको बताउँदै पत्रकारिता समाजको आवाज र परिवर्तनको माध्यम भएको बताउनुभयो । यस्ता मानवीय कार्यले पत्रकारिताको गरिमा अझ उच्च बनाउनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रेस सेन्टर गण्डकी प्रदेशका उपाध्यक्ष तथा महासंघ म्याग्दीका पूर्व सचिव सन्तोष गौतमले स्वतन्त्र प्रेसमाथि कसैले पनि हनन् पु¥याउन नहुने बताउनुभएको थियो । महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतमले बालगृहका बालबालिकाहरु स्वस्थ रहन मद्दत पुगोस् भनेर दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष गौतमले भन्नुभयो, ‘विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हामीले केबल औपचारिक कार्यक्रम मात्र गरेका होइनौं, यसले समाजमा प्रत्यक्ष प्रभाव पार्ने सोचका साथ यो कार्यक्रम आयोजना गरेका हौं । आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई हामीले निरन्तरता दिनेछौं ।’ साथै उहाँले स्वास्थ्य परीक्षणपछि आवश्यक परेकालाई निःशुल्क रुपमा औषधी उपलब्ध गराइने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ म्याग्दी शाखाका नेत्र अधिकृत दिनेश बानियाँ, कोर–स्माईल डेन्टल क्लिनीक बेनीका सञ्चालक डा. मोचन श्रेष्ठ र बेनी सञ्जिवनी क्लिनीकका हेल्थ असिस्टेन्ट लोकराज जोशीले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव सन्दिप शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।



