• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार ३, २०८२ मङ्गलवार । रुप्से न्यूज

म्याग्दी– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा सङ्गठन कमजोर बन्दै गएको बताउनुभएको छ । मङ्गलवार कांग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका प्रवक्ता डा. महतले भन्नुभयो, ‘कांग्रेस पार्टीको नीति र सिद्धान्त उत्कृष्ट भए पनि व्यक्तिवादी चरित्र हावी हुँदा केन्द्रदेखि तल वडा र टोलसम्म सङ्गठन कमजोर बन्दै गएको छ । त्यसैले कांग्रेसलाई बलियो बनाउन सङ्गठनभित्र एकता आवश्यक छ । पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ पछिल्लो समय पार्टी सङ्गठनमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको उहाँको भनाइ थियो ।

अहिलेको मिश्रित निर्वाचन प्रणालीको व्यवस्थाले कुनै पनि एउटा राजनितिक दलको मात्रै बहुमत नआउने भएकाले प्रमुख दुई ठूला दल कांग्रेस र एमाले मिलेर सातबुँदे सहमतिको आधारमा सरकार बनाएको स्मरण गर्दै सहमति अनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्ने नेता महतले बताउनुभयो । सङ्गठनभित्र धेरै कमजोरी र समस्या भए पनि अन्य स्थापित पार्टीको तुलनामा कांग्रेसको नीति र सिद्धान्त उत्कृष्ट भएको दाबी गर्दै उहाँले नीति, सिद्धान्त र विचारविना अरुलाई गाली गरेर लोकप्रियताले मात्र केही नहुने बताउनुभयो ।

डा. महतले कांग्रेसको पार्टी क्रियाशील सदस्यता लगायतका कामहरु बाँकी नै रहेकाले पार्टीको आसन्न महाधिवेशन आउँदो मङ्सिर महिनामा सम्भव नहुने बताउनुभयो । जिल्लास्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले भन्नुभयो, ‘पुरानो क्रियाशील सदस्यता नवीकरणको काम समेत सम्पन्न नभएको र अन्य तयारी नपुगेको समयमा आगामी मङ्सिरमा महाधिवेशन सम्भव छैन । पार्टी केन्द्रीय कार्यसमितिको पदावधि चारवर्ष भए पनि विधान अनुसार एक वर्ष थप गर्न मिल्ने प्रावधानमा टेकेर ०८३ को मङसिरभित्र महाधिवेशन गर्छौं’ उहाँले भन्नुभयो ।

सहमति बमोजिम काम नहुँदा कांग्रेस र एमाले सत्ताका लागि एकै ठाउँमा आए भन्ने सन्देश जनतामा जाने बताउँदै नेता महतले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने प्रयास गरेको भए पनि अझै ठोस् र प्रभावकारी रूपमा आउन नसकेको उहाँले टिप्पणाी गर्नुभयो । ‘म अर्थमन्त्री हुँदा केन्द्र सरकारले तीन करोडभन्दा साना र प्रदेश सरकारले एक करोडभन्दा साना योजना सञ्चालन गरेका थिएनौं । त्यसरी नै बजेट बनाएर काम गर्दा प्रभावकारी पनि भएको थियो । अहिले बजेट हेर्नुस् त प्रदेश सरकारले लाखका योजनालाई समेत बजेट बाँडेका छन् । यो बेतिथि अन्त्य गर्न आवश्यक छ ।’

अर्को प्रसङ्गमा नेता महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताउँदै कर्मचारीलाई मुद्दा लाग्दैमा मन्त्रीले राजीनामा दिनुपर्छ र संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने माग जायज नभएको बताउनुभयो । यसैबीच पार्टीको भातृ र शुभेच्छुक सङ्गठनहरुको अधिवेशन छिट्टै गर्ने तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडकलाई केन्द्र र प्रदेश सरकारले प्राथमिकता दिएर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, कांग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ लगायतले बोल्नुभएको थियो । कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षता, उपसभापति केबि भण्डारीको स्वागत र सचिव हिराबहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुले पार्टीको वर्तमान अवस्था, नेतृत्वको कार्यशैली र पार्टीको भावी योजनाबारे जिज्ञासा राखेका थिए ।