असार ५, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– ‘समृद्ध रघुगंगा, सुखी रघुगंगावासी’ भन्ने नारासहित म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५० करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १९औं गाउँसभामा आउँदो वर्षमा चालु र पूँजीगतसहित कुल ५० करोड ११ लाख ४० हजार आठसय २० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो ।

यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गरेको आगामी आार्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आउँदो वर्षका लागि प्रस्तुत गरेको ५० करोड ११ लाख ४० हजार आठसय २० रुपैयाँको बजेट पनि पारित भएको रघुगंगा गाउँपालिकाले जनाएको छ । गाउँसभामा उपाध्यक्ष पुनले पेश गरेको रघुगंगा गाउँपालिकाको विनियोजन विधेयक–२०८२ पनि पारित भएको छ ।

गाउँपालिकाले ल्याएको आगामी आवको लागि प्रस्तुत भएको कुल बजेटमध्ये चालुतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० रुपैयाँ र पूँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक राजश्वतर्फ एक करोड पाँचलाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख गरी आन्तरिक आयतर्फ कुल तीन करोड ६० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । यसैगरी संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याइएको उपाध्यक्ष पुनको भनाइ छ ।

रघुगंंगा गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निःशुल्क, कृषिका सामग्री खरिदमा ७५ प्रतिशतसम्म अनुदान दिने, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउनेलगायत विभिन्न खालका कार्यक्रमहरुमार्फत स्वरोजगारमूलक गतिविधिलाई जोड दिएको जनाएको छ । गाउँपालिकाको प्रशासकीय तथा वडा कार्यालयको भवन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमूलक कार्यक्रमहरुका साथै किसानको वर्गीकरण गरेर परिचयपत्र वितरण समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

आगामी वर्षमा गाउँपालिकाले आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रको समग्र विकास गर्नको लागि ‘कृषिलाई उद्यम, कृषकलाई उद्यमी’ भन्ने अभियानलाई निरन्तरता दिइने भएको छ भने यसका लागि विभिन्न शीर्षकमा आवश्यक बजेट समेत विनियोजन गरिएको छ । त्यस्तै पुशपंक्षी विकासतर्फ औषधी र औषधीजन्य सामग्री खरिद गर्नको लागि १५ लाख ५० हजार, भेडा र बाख्राको उत्पादकत्व बढाउन पाँचलाख तथा बंगुरपालनमा तीनलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी गाउँपालिकाभित्र घरपालुवा र सामुदायिक कुकुरको व्यवस्थापन, रेबिज रोग न्यूनीकरण, कुकुरको बन्ध्याकरण शिविरका लागि सातलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पशु स्वास्थ्य शिविर सञ्चालनतर्फ चारलाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने राजेगार प्रवद्र्धनअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमसँग गाउँपालिकाबाट ३३ लाख ७२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । गाउँपालिकाले उद्यम गर्न चाहने महिला, दलित अपाङ्गता भएका व्यक्ति र विपन्न समुदायलाई उद्यमशिलता र स्वरोजगार सम्बन्धी सिपमूलक तालिम दिने भएको छ ।




