• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार ८, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– ‘नेपालको राष्ट्रिय खेल भलिबल, राष्ट्रिय गरिमा र रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नारासहित म्याग्दी भलिबल कप–२०८२ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजना, जिल्ला खेलकुद विकास समितिको सहकार्य र प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा आइतबारदेखि बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता म्याग्दी जिल्ला भलिबल कप–२०८२ मा म्याग्दीसहित गण्डकी प्रदेश अन्तर्गतका विभिन्न आठवटा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको तथा प्रतियोगिता लिग चरणमा सञ्चालन भैरहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

आउँदो बुधवारसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद दुई लाख, उपविजेताले नगद एकलाख तथा तेस्रो हुने टिमले नगद ५० हजार र चौथो हुने टिमले नगद २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बानियाँले जानकारी दिनुभयो । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद पाँच–पाँच हजार तथा अन्य विधागततर्फ उत्कृष्ट स्पाईकर, सर्भर, व्लकर, लिबेरो, डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

हरेक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित कुल १४ जनालाई आयोजकले आवास, खाना र खाजाको व्यवस्था मिलाएको जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्ला भलिबल संघले कबर्डहल बनाएर भलिबलको विकास गर्ने कार्यमा आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले महिला भलिबलका राष्ट्रिय टिम क्याप्टेन अरुणा शाहीलगायत थुप्रै भलिबल खेलाडीहरुको जन्मथलो म्याग्दी भएको हुँदा प्रतियोगिताले जिल्लामा खेलकुदको सम्भावनालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनसत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षता र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सञ्चालन तथा महासचिव कुमार किसानले स्वागत गर्नुभएको थियो । यसैबीच म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङ विजयी प्रतियोगिताको पहिलो दिन चारवटा खेल सकिएका छन् । आयोजक म्याग्दी जिल्ला खेलकुद विकास समितिले कास्कीलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गरेको छ । त्यस्तै स्याङ्जाले नवलपुरलाई पनि सोझो तीन सेटमा पराजित गरेको थियो ।

तनहुँले मुस्ताङलाई एकका विरुद्ध तीन सेट र बागलुङले पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको म्याग्दी जिल्ला भलिबल संघले जानकारी दिएको छ । सोमबार स्याङ्जा र कास्की, तनहुँ र पर्वत, म्याग्दी र नवलपुर, बागलुङ र मुस्ताङबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ । प्रतियोगिता उद्घाटनसत्रको अवसरमा दुईजना रेफ्री र तीनजना खेलाडीलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद पाँचहजार रुपैयाँसहित म्याग्दी जिल्ला भलिबल संघले सम्मान गरेको हो ।