• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असार २५, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लुक्सीपारमा माथिबाट खसेको पहिरोमा परिँदा दुईजना बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । पहिरो र मानिस वेपत्ता भएको घटनाको विषयमा थप जानकारी आउने क्रममा रहेको बताउँदै उहाँले इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोलीलाई घटनास्थल पठाइएको जानकारी दिनुभयो ।

वेपत्ता भएकाहरूको स्थानीयवासी र जनप्रतिनिधिले खोजी थालेका छन् । जल तथा मौसम विज्ञान विभागको म्याग्दीको दरबाङस्थित वर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भैरहेको छ । आज दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिली मिटर वर्षा मापन भएको छ ।